मनाङ घुम्न गएका रामेछापका थापाको लेक लागेर ज्यान गयो

| कात्तिक २९, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२९ कातिक, रामेछाप । मनाङमा लेक लागेर रामेछापका एक युवकको मृत्यु भएको छ । 

 

रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्दै आएका २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि.)भ्रमणका लागि मनाङ् गएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।


तिलिचो ताल भ्रमणका लागि बेसक्याम्प (४,१५०मि.) मा पुगेका उनलाई हाई अल्टिच्यूड र चिसोका कारण लेक लागेर बिरामी भएपछि उनीसंगै गएको टोली नै फिर्ता भएको थियो ।

 

उनीहरू काठमाडौंबाट बेंसीसहर–चामे–मनाङ हुँदै खाङ्सारसम्म मोटरसाइकलमा पुगेका थिए । खाङ्सारबाट माथि सडक नभएका कारण उनीहरू हिँडेरै तिलिचोतर्फ गएका थिए ।

 

करिब ६ घण्टाको बाटो खाङ्सार (३,७५६मि.) सम्म बोक्दै, हिँडाउँदै ल्याएको र त्यसपछि आधा घण्टा सवारी साधन चढाएर मनाङ ल्याइएपछि उनको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । 

 

हेलिकप्टरले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको मनाङका डीएसपी सुवास खड्काले बताए ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार