मन्थली नगरपालिकाले नेपालमै पहिलो पटक सबै नगरबासीको निःशुल्क मृगौला परिक्षण गर्ने घोषणा गर्यो (भिडिओसहित)

| मंसिर ६, २०७८ सोमबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

६ मंसिर,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नेपालमै पहिलो पटक निःशुल्क मृगौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले नगरभित्र बसोबास गर्ने सबै जनताको निःशुल्क मृगौला परीक्षण गर्ने घोषणा गरेको हो । साथै नगरमा बाहिरबाट आएर नियमित रुपमा बसोबास गर्दै आएकाहरुलाई समेत यो अभियानमा सामेल गर्ने जनाएको छ । ‘स्थानीय सरकार बनेपछि केही नयाँ गर्ने योजना अनुसार हामीले ७५३ वटै स्थानीय तहमा हाल सम्म नभएको भन्दा फरक र पहिलो पटक नगरका सबै नगरबासीको निःशुल्क मृगौला परीक्षण गर्ने योजना अगाडि बढायौं, यसमा नगरमा नियमित रुपमा बसोबास गर्दै आएका नगरबासी र बाहिरबाट आएकाहरुलाई समेत सामेल गराउछौं, विधि र प्रक्रियाले दिएसम्म सबैको परीक्षण गर्ने हाम्रो योजना छ नगरप्रमुख रमेशकुमार बस्नेतले भने ।’


हाल मन्थली नगरपालिकामा ५१ हजार भन्दा बढी मानिसको बसोबास रहेको तथ्याङ्क छ । त्यसमा १० हजार जना जिल्ला बाहिर बसोबास गर्ने गरेका छन्, भने ५ हजार बालबालिका रहेको तथ्याङ्क छ । यही तथ्याङ्कलाई आधार मानेर ३० हजार जनाको मृगौला तत्काल परीक्षण गर्ने योजना नगरको छ । परीक्षणबाट मृगौला पीडित बनेकाहरुलाई उपचारमा लैजान सहयोग गर्न सहज हुने बस्नेतले बताए । 


‘विगतका दिनमा नगरमा ४–४ महिनामा हाकिम फेरीँदा समस्या खेप्नु परेको दुखेसो सुनाउदै बस्नेतले हाल एक वर्षदेखि एकै जना प्रशासकिय प्रमुख बसेर कामको लागि सहजता भएको भन्दै प्रशासकिएको प्रशंसा गरे । 


त्यस्तै प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले पनि यो अभियान मन्थली नगरपालिकाका नगरबासीको स्वास्थ्य स्थिति बुझ्ने एक महत्वपूर्ण सर्वेक्षण हुने भन्दै यसलाई सफल पार्न सबैले सहयोग गर्न अपिल गरे । उनले नगरका १४ वटै वडाबाट मृगौला परीक्षण गर्ने योजना सुनाउदै, यो काम सबैभन्दा पहिले सम्पन्न गर्ने वडालाई सम्मान गर्ने बताए । ‘काम सम्पन्न गर्ने पहिलो वडा, स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्छौं,’ पौडेलले बताए ।

 

उनले यो अभियानलाई कसरी अगाडि बढाउने बारे जानकारी दिदै १४ वडा भित्र रहेका १३० स्वास्थ्य केन्द्र, २५ खोप केन्द्र र ३८ गाउँघर केन्द्रबाट परीक्षण सेवा गर्ने सुनाए । उनले अहिले ८० देखि ८५ प्रतिशत मानिसको मृगौला परीक्षण गर्न सके योजना सफल हुने दाबी गरे । यसको लागि १५ लाख रुपैयाँ खर्च लाग्ने प्ररम्भिक अनुमान नगरको रहेको प्रशासकिय प्रमुखको भनाई छ । 


त्यस्तै नगरपालिकाले विगतका केही वर्षयता ४० भन्दा बढी मानिसहरुलाई विपन्न स्वास्थ्य सेवाको लागि सिफारिस गर्दै आएको जानकारी गराउदै नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाल भन्छन् ‘रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनको लागि यो योजना सुरु गरेका छौं ।’ 


चालु आर्थिक वर्षमा नगरले गर्दै आएका कामको बारेमा जानकारी गरादै फुयालले हाल १३ जना नगरबासीका बासिन्दाहरु मृगौला रोगबाट पीडित बनेर डाईलसिस् गरादै आएको जानकारी दिए । रामेछाप जिल्लामा हाल ३५ जनाले मृगौला रोगबाट पीडित बनेर नियमित डाईलसिस् गरादै आएको राष्ट्रिय मृगौला उपचार केन्द्र, बचाउ अभियानका डाक्टर सम्मेलित टोलीले कार्यक्रममा जानकारी दिएको छ । 


आइतबार नगरको कार्यालयमा निःशुल्क मृगौला परीक्षण घोषणा गर्दै आउँदो मंसिरको २५ गतेदखि औपचारिक रुपमा यो अभियान सुरु हुने बताइएको हो । 


कार्यक्रममा वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले देशभरी हाल मृगौला रोगको अवस्था,जिल्लाको अवस्था र यसबाट बच्नको लागि अपनाउनु पर्ने उपायका बारेमा सुझाएका थिए । 

भिडिओ हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार