मानवअधिकार दिवसः रामेछापमा अधिकार उलङ्घनका घटना बढेको निष्कर्ष

| मंसिर २४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२४ मंसिर,रामेछाप । रामेछाप जिल्लामा मानव अधिकार उल्ङ्गनका घटना बढेको निष्कर्ष निकालिएको छ । मानवअधिकारको अन्तराष्ट्रिय दिवसको अवसरमा मानवअधिकार संजाल रामेछापले मन्थली नगरपालिकाको सहयोगमा आयोजना गरेको अन्तरक्रिया तथा छलफलमा देश विकासको गतिमा अगाडि बढेसंगै हिंसा जन्य घटनाहरु पनि बढेको निष्कर्ष निकालिएको हो । 

 

मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, जिल्ला न्याधिवकता यदुनाथ शर्मा, जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गाना, पत्रकार,संचारकर्मी, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितिमा अन्तरक्रिया सहितको छलफलले पछिल्लो समय यौनजन्य हिंसा, बलत्कार, लैङ्गिक, भाषिक, जातिय, समुदायिक हिंसाहरु दिनप्रति दिन बढ्दै गएको पुष्टि भएको बताइएको छ । 


बढ्दै गरेको सामाजिक संजाल प्रयोग र प्रविधिले हिंसालाई थप बढुवा दिएको छलफलमा वक्ताहरुले बताए । 

 

प्रहरी प्रमुख नवराज ढुङ्गानाले जिल्लामा र देशभरिनै लकडाउनको सयमा थप यौनजन्य हिंसा बढेको बताए । उनले यो अवधिमा भएका आत्महत्या, जबरजस्ति करणी, बलत्कार, यौन हिंसा, बलत्कार प्रयास, कुटपिटका घटना बढेको तथ्याङ्क प्रस्तुत गरेका थिए । जिल्लामा पछिल्लो सयममा बलत्कारका घटना उल्लेख रुपमा वृद्धि भएको उनले बताएका थिए ।  


त्यस्तै नगर प्रमुख बस्नेतले हिंसा गर्ने प्रवृतीमा परिवर्तन आएको उल्लेख गर्दै घरबाट त्यसको निर्मलको लागि वातावरण बनाउनु पर्नेमा जोड् दिए । उनले घरभित्रबाट त्यसको लागि सुरु गर्न आग्रह समेत गरे । बस्नेतले छोराछोरीहरुलाई सहि मार्गमा हिडाउनको लागि प्रविधिको सहि सदुपयोगको निम्ती भूमिका खेल्न अभिभावकलाई सुझाए । 

 

त्यस्तै प्रजिअ पहाडीले देश विकास हुदै जाँदा हिंसा पनि बस्ने हुदाँ सबैले आ–आफ्नो ठाउँबाट त्यसको निम्ती भूमिका खेल्न आग्रह गरे । म–म भनेर सहि काम गर्यो भने हामीले मानव अधिकारको संरक्षण गर्न सक्ने दाबी गरे । सरकारी कार्यालयबाट सेवा प्रदान गर्दा हिंसा भएको भन्ने धेरै बाहिर आएको प्रसंग सुनाउदै उनले सहि कामको लागि समय लाग्ने तर्क गरे । 

 

जिल्ला न्याधिवकता शर्माले भने हिंसामा महिलाहरुको मात्रै घटना बाहिर आएपनि पुरुषहरु पनि हिंसामा पर्ने गरेको बताए । उनले अधिकारको क्षेत्रमा काम गर्नेहरुले सबैले एकले अर्काको अधिकारको संरक्षण गर्नु पर्ने भन्दै अधिकार मिचिएको लागेमा त्यसको लागि कानूनी बाटोहरु रहेको जानकारी दिए ।