रामेछापमै पहिलो पटक हुन लागेको ‘वृहत सांस्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान’को तयारी पूरा

| पुस १६, २०७८ शुक्रबार

तस्विर फाइलः मिलन घिमिरे रामेछाप टाइम्स
A A A
A A A

१६ पुष, रामेछाप ।  रामेछाप सांस्कृतिक कलाकार समाजले भोली शनिबारदेखि मन्थलीमा गर्न लागेको ‘वृहत सांस्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान’को तयारी पूरा भएको जनाएको छ । 

 

शनिबारदेखि जिल्ला सदरमुकाम मन्थलीमा दुई दिन वृहत सांस्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान हुन लागेको छ । यो रामेछाप जिल्लामै पहिलो पटक हुन लागेको हो । विगतका वर्षहरुमा समाजले गर्दै आएको यो कार्यक्रम जिल्ला बाहिरै गर्दै आएको थियो । 

 

जिल्ला समन्वय समितिको प्रांगण मन्थलीमा हुन लागेको सो कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहमा गठित समाजका शाखा एवं पालिका समितिको उपस्थितिमा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुतिकाबीच कार्यक्रम हुन लागेको कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलले शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

 

उनका अनुसार सांस्कृतिक समाजले जिल्लाका आठ वटै स्थानीय तहमा आफ्नो शाखा/समिति विस्तार गरि सकेको छ । जिल्लामा पहिलो पटक हुन लागेको स्रष्टा सम्मानमा कलाकारीता क्षेत्रसहित विभिन्न विधामा एक वर्षको अवधिभर योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने आयोजकले जनाएको छ । 

 


भोली बिहान जिल्लाका स्थानीय तथा लोपनमुख जातजातीको भेषभुषासहितको झाँकी पर्दशनीसहित कार्यक्रम सुरु हुने समाजका महासचिव युनिकबिफा घिसिङ्ले जानकारी दिए । ‘आठ वटै पालिकाको ब्यानर सहित भेषभुषामा रहेर झाँकी सहितको वृहत सांस्कृतिक कार्यक्रम हुन्छ पौडेलले पत्रकार सम्मेलनमा भने ।’ उनले दुई दिनको कार्यक्रममा १० लाख बढी रकम खर्च हुने आंकलन गरिएको जानकारी दिए । 

 

दुई दिन सम्म हुने कार्यक्रम स्थानीय तह र दाताहरुको आर्थिक सहयोगमा हुन लागेको हो । चौथो अधिवेशन सहितको वृहत कार्यक्रमले समाजको नयाँ नेतृत्व पाउने बताइएको छ ।