रामेछाप नगरपालिकाले संचालनमा ल्यायो ‘माटो परीक्षण मिनिल्याब’ वडा-वडा पुगेर परीक्षण गर्दै

| माघ १९, २०७८ बुधबार

A A A
A A A

१९ माघ, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले ‘माटो परीक्षण मिनिल्याब’ संचालनमा ल्याएको छ । अब नगरभित्रका सबै वडाहरुमा कुन ठाउँमा कस्तो माटो रहेको छ । र, त्यो माटोमा के–के उत्पादन गर्नको लागि उपयुक्त छ भनेर पूर्ण जानकारी लिन सहज हुने नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले रामेछाप टाइम्सलाई जानकारी दिइन् । उनी भन्छिन् ‘नगरक्षेत्रभित्र कुन ठाउँमा कस्तो किसिमको माटो छ । र, के–के उत्पादन हुन्छ भनेर माटो परिक्षण गराउने ल्याव व्यवस्थापन गरेका हौं ।’

 

नगरपालिकाले संचालन गरेको उक्त ल्याबले उत्पादनलाई बढबा दिने अपेक्षा गरिएको छ । नगरको वार्षिक कार्यक्रम अन्तर्ग समावेश उक्त योजना संचालनमा आएसंगै यसको फाइदा लिन सबै कृषकलाई उनले आग्रह समेत गरेकी छन् । किसानहरुको हितमा विभिन्न काम गर्दै आएको नगरले पछिल्लो पटक ल्याब संचालन गरेको हो । तत्कालको लागि एक जना प्राविधिकबाट सेवा सुचारु गरेको उपप्रमुख खड्काले बताइन् । 

 

‘हामीले एक जना प्राविधिकबाट अहिले काम सुरु गरेका छौं । अब हामी तत्कालै सबै वडाहरुमा शिविरको रुपमा माटो परीक्षण गर्नको लागि वडा वडामा पुग्ने छौं उनले भनिन् ।’ 
उनका अनुसार आउदो शनिबार साँघुटार बजारबाट वडा वडा माटो परीक्षण शिविर सुरु हुने छ । लामो समयको प्रतिक्षापछि ल्याब संचालनमा आएपछि स्थानीय कृषकहरु पनि खुसी भएका छन् । 

 

बालिनाली, बोटविरुवाहरुलाई आवश्यक पर्ने १६ प्रकारका खाध्य पदार्थहरुको यो ल्याबबाट पहिचान हुने छ । साथै कुन ठाउँको माटो के उत्पादनको लागि उपयुक्त छ भनेर पहिचान हुने ल्याब संचालक एवं प्राविधिक लवश्री विश्वकर्माले रामेछाप टाइम्ससँग बताए  ।

 

'यो ल्याबले माटो परीक्षण गर्न सहज छ । बोकेरै हिड्न सकिन्छ । हामी सबै वडामा पुगेर माटो परीक्षण गर्ने छौं । यसले त्यहाँको माटो कस्तो हो, र के उत्पादनको लागि माटो उपयुक्त छ भन्ने पुष्टि हुन्छ विश्वकर्माले भने ।'