जिल्ला सहकारी संघ रामेछापको अध्यक्षमा हिमाल ढुङ्गेल, सचिवमा नवीन केसी

| माघ १९, २०७८ बुधबार

तस्विरः नवीन केसी/रामेछाप टाइम्स
A A A
A A A

१९ माघ, रामेछाप । रामेछाप जिल्ला सहकारी संघ रामेछापको अध्यक्षमा हिमाल ढुङ्गेल चयन भएका छन् । उनी सर्वसहमतिले अध्यक्षमा चुनिएका हुन् । यसअघि कोमल शंकर घिमिरे अध्यक्ष रहेका थिए । 

 

बुधबार आज सहकारीको चौथो जिल्ला वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले ढुङ्गेलको अध्यक्षमा नौं सदस्यीय संचालन समिति गठन गरेको निर्वाचन अधिकृत गोविन्द घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार संघको उपाध्यक्षमा श्याम थापा, सचिवमा नवीन (केसी) घिमिरे चयन भएका छन् । 

 

त्यस्तै संघको कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन्, भने दिलिपकुमार भण्डारी, चन्द्र मानन्धर, सावित्रा केसी, लक्ष्मी कार्की (बुढाथोकी), मेनुका खड्का (महत) सदस्यमा चयन भएका छन् । 

 

त्यस्तै छत्रविर श्रेष्ठ लेखा सुपरिवेक्षण समितिको संयोजक बनेका छन्, भने घना श्रेष्ठ र रवीन्द्र कुमार श्रेष्ठ सदस्यमा चुनिएका छन् । 


नवगठित समितिको पहिलो बैठक आजै बसेर सहकारीलाई चलाएमान र हालको परिस्थितिबाट माथि उठाउन विशेष कदम चाल्ने छलफल गरेको सचिव नविन केसीले रामेछाप टाइम्सलाई बताए । हाल जिल्ला सहारकारी चलाएमान हुन नसकेको गुनासो छ । साथै केसीले चौथो वार्षिक साधारण सभा सम्पन्न गराउन सहयोग गरेको भन्दै सबैमा धन्यवाद् दिए । 

 

कूल एक सय ८१ सहकारी आबद्ध रहेको जिल्ला सहकारीमा चालु आर्थिक वर्षमा भने नविकरण गर्ने संस्थाको संख्या न्युन छ । 


संस्था चलाएमान हुन नसकेको भन्दै आलोचना खेपी रहेका बेलामा अध्यक्ष बनेका ढुङ्गेलले संस्थालाई चलाएमान बनाएर अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । अध्यक्ष बनेपछि रामेछाप टाइम्ससंग छोटो कुराकानी गर्दै अध्यक्ष ढुङ्गेलले भने ‘सहकारीलाई विगतमा लागेका आलोचना मुक्त बनाउदै चलाएमान बनाउछु । टिमसँग मिलेर सहकारीको हक अधिकारको लागि निरन्तर काम गर्छु ।’ 
 

सम्पादकिय यसअगाडि हिमाल ढुङ्गेल हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।