बेतालीमा एक सहकारीसहित ७ घरमा चोरीः तीन तोला सुन, ६ वटा खुकुरी गाएप्, धेरै ठाउँ तोडफोड्

| फागुन २६, २०७८ बिहिबार

सांकेतिक तस्विर
A A A
A A A

२६ फागुन, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा गएराति एक सहकारी संस्थासहित सात घरमा तोडफोड् र चोरी भएको छ । बेताली बचत तथा ऋण सहकारी संस्था सहित पालिकाको वडा नं ४ बेतालीका ६घरबाट चोरी भएको हो । सो ठाउँमा केही समय अगाडि पनि चोरी भएको थियो ।

 

बुधबार राति बेतालीको साविकको वडा ७ कात्तिकेका कृष्ण बस्नेतको घरबाट नगद ४५ हजारसहित तीन तोला सुन चोरी भएको स्थानीय कैलाश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 
उनका अनुसार बेतालकै साविकको वडा नं ३ का विकास बुढाथोकीको घरबाट पनि नगद १५ हजार र ३ हजार रुपैयाँको रिचार्ज कार्ड चोरी भएको छ । 

 

त्यस्तै सोही वडाका राज बिक र अकबरे बिकको घरबाट ३–३ वटा खुकुरी चोरी भएको कार्कीले जानकारी दिए । 


त्यस्तै अन्य केही घरहरुमा पनि चोरी भएको र घटना स्थलमा जिल्ला प्रहरी र प्रहारी चौकी बेलातीबाट प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको बेताली प्रहरी चौकीले रामेछाप टाइम्सलाई जानकारी दियो । 


‘चोरले चोरी गरेका सबै ठाउँको ताल्चा चाबी लगेको पाइयो । सहकारीको सीसी टिभी फूटेजमा एक जना पूरै अनुहार छोपेको अवस्थामा एक जना मानिस स्पष्ट देखिन्छ । सहकारीबाट नगद पैसा २५ सय रुपैयाँ लगेको पाइयो । तर, उसलाई पहिचान गर्न गाह्रो भएको छ । केही घरहरुमा तोड्फोड् समेत भएको छ कार्कीले रामेछाप टाइम्सलाई भने ।’

 

घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।