भलुवारजोरमा सानो जातकी बालिका घरभित्र पसेर दही चोरेको आरोपमा २१ घण्टा बाँधेर सिस्नुपानी सहित हातपात्

| चैत २, २०७८ बुधबार

A A A
A A A

२ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा सानो जातकी बालिका घरभित्र पसेर दही चोरेको आरोपमा एक २१ घण्टासम्म बाँधेर हातपात् भएको छ । उनलाई ४ घण्टासम्म डोरिले बाँधेर झुण्ड्याइएको १३ वर्षीय बालिका सरिता नेपालीले बताइन् । उनले थपिन् ‘घरको थाममा बाँधेर सिस्नु लगाउँदै, लौरोले कुटपिट गरे । बाँधेर राखिएकाले राति शौचालय जानसमेत पाइन् । म बाहिर÷शौचालय जाँदा समेत घर धनीले बाँधेर नै लगे ।’

 

ती बालिकालाई दुई दिन पहिलेमात्र रजस्वला भएको उनले सुनाइन् । बालिकालाई २१ घण्टासम्म बाँधेर राख्दा उनको शरीरमा झिंगा भन्किरहेको थियो । 

 

यसरी उनलाई बाँधेर हातपात गर्ने उनका छिमेकी ६३ वर्षीय  शेरबहादुर श्रेष्ठ हुन् । उनले दलित भएर आफ्नो घरमा पसेर दही चोरेर खाएको, सामान् झिक्न खोजेको आरोप लगाएका छन् । सोही आरोपमा बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर सिस्नुपानी लाएको ती बालिकाले बताएकी हुन् ।


दलित भएर आफ्नो घरमा पसेर घर अछुत् बनाएको भन्दै उनले घरको जिम्मा लिनु पर्ने, रुद्रिपूजा लगाउने खर्चा दिनु पर्ने भन्दै बालिकालाई बाँधेर यातना दिएको श्रेष्ठले स्वीकार गरेका छन् ।यसरी बालिकालाई बाँधनु राम्रो काम नभएको भन्दै स्थानीयहरुले छोडिदिन आग्रह गरे पनि उनले टेरेनन् । त्यसपछि स्थानीयहरुले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । खबरपछि प्रहरी र पत्रकारको टोली पुग्दा समेत बालिका सोही अवस्थामा भेटिएकी थिइन् । 

 

प्रहरीले बालिकालाई बाँधेको डोरी फुकाउन भने पछिमात्र घरधनी बालकुमारी श्रेष्ठले फुकाइदिएकी थिइन ।


बालिकालाई बाँधेरको खबर पाएपछि हेर्न जाँदा हात, कम्मर र खुट्टामा बाधेर बस्न समेत अफ्टेरो हुनेगरी राखिएको अवस्थामा देखेको पीडितका ठूलोबुबा सार्के नेपालीले बताए । उनले भने ‘मैले छाडिदिनुस् भने तर, घर चोख्याउन रुद्रिपूजाको गर्न लाग्ने खर्च नदिएसम्म नछोड्ने भनेपछि गाउँलेलाई घटनाको बारेमा जानकारी गराए ।’

 

यसरी बालिकालाई यातना दिने श्रेष्ठलाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएर आज म्याद थप गर्ने तयारी गरेको छ । ती बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले परिवारको जिम्मा लगाइएको रामेछाप प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।