म्यादी प्रहरीः रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन दर्ता
११ चैत, रामेछाप । आसन्न स्थानीय निर्वाचनको लागि खटिने सुरक्षाकर्मी अर्थात् ‘म्यादी प्रहरी’ को लागि रामेछापमा १६ सय जना भन्दा बढीले आवेदन दिएका छन् ।
गत चैत ६ गतेदेखि आज शुक्रबार साँझ ५ बजेसम्म आवेदन दिनेसमय तोकिएकोमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कूल १६ सय ७५ जनाको आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार महिला तीन सय ६९ र पुरुष एक हजार तीन सय ६ जना गरि कूल १६ सय ७५ जनाले आवेदन दर्ता गरेका हुन् ।
जिल्लामा कूल सात सय ८४ जना म्यादी प्रहरीको माग छ । तर, आवेदन भने दोब्बर भन्दा बढी परेको हो । यसरी दर्ता भएको र मागको आवेदनलाई तुलना गर्दा कूल आठ सय ९१ जना माग भन्दा बढी आवेदन परेको सूचना अधिकारी श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।
उनका अनुसार आउदो आइतबार जिल्ला प्रहरी कार्यालयमा नाम प्रकाशन हुने र म्यादी प्रहरी भर्नाको लागि औपचारिक रुपमा प्रक्रिया अगाडि बढ्ने ।
सरकारले आउदो वैशाख ३० गतेको स्थानीय तहको लागि देशभरी एक लाख जना म्यादी प्रहरी माग गरेको छ।