रामेछापमा आठ वटै स्थानीय तहको मतगणना सम्पन्नः कांग्रेस पहिलो,एमाले दोस्रो र माओवादी तेस्रो, प्रमुख, उपप्रमुख यी हुन् (नामावली)

| जेठ ६, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

६ जेठ,रामेछाप । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ । 

 

गत वैशाख ३० गते मतदान भएका ६३ वडा र जेठ २ गते सोमबार एक वडामा भएको मतदानको सबै मत गणना शुक्रबार बिहान सम्म सकिएको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । 

 

पालिका चुनाव अन्तर्गत जिल्लामा कूल ६५.५४ प्रतिशत मत खसेको थियो । आठ स्थानीय तहका ६४ वटा वडामा गरी कूल १ लाख ७८ हजार ८ सय ६७ मतदाता रहेकोमा एक लाख १७ हजार २ सय ४२ मत खसेको मुख्य निर्वाचन कार्यालय रामेछापका प्रमुख दिवकर भट्टराईले रामेछाप टाइम्सलाई बताए । गत निर्वाचनको भन्दा यो पटककको निर्वाचनमा मतदान कम खसेको उनले बताए । 

 

सबै स्थानीय तहको मत गणना सकिदाँ रामेछापमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । काँग्रेसले ३ पालिका प्रमुख, ४ उपप्रमुख र २४ वटा वडा जित्तै पहिलो पार्टी बनेको हो । 

 

त्यस्तै नेकपा एमाले ३ प्रमुख, ३ उपप्रमुख र २४ वटा वडामा जित्दै दोस्रो ठूलो पार्टी भएको छ । माओवादी केन्द्रले २ प्रमुख, १ उपप्रमु्ख र १५ वटा वडा जित्तै तेस्रो पार्टी भएको छ । 

 

त्यस्तै एकिकृत समाजवादी पार्टीले एक वडा जितेको छ ।

 

स्थानीय आवश्यकता अनुसार दोरम्बा र खाँडादेवी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गरेर चुनाव लडेका थिए । जसअनुसार दोरम्बामा गठबन्धनको टिम बिजयी भएको छ, भने खाँडादेवीमा पराजित भएको छ । 

 

नेपाली कांग्रेस र नेकपा एमालेले एक-एक नगरपालिकामा आफ्नो जित निकालेका छन् । उमाकुण्डमा प्रमुख एमालेले जित्दा उपप्रमुखमा कांग्रेसले बाजि मारेको छ । 

 

कांग्रेसले पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा ७ वडा सहित प्रमुख, उपप्रमुख र गोकुलगंगा गाउँपालिकामा ४ वडासहित प्रमुख,उपप्रमुख दुवै जितेको छ ।

 

यता लिखु तामाकोशी गाउँपालिकामा प्रमुख कांग्रेसले जितेको छ, भने उपप्रमुखमा एमालेले बिजयी हाँसिल गरेको छ । 

 

त्यस्तै सुनापति गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख, उपप्रमुखसहित एक वडा बाहेक सबै वडा जितेको छ । 

 

खाँडादेवी गाउँपालिकामा कांग्रेस र माओवादीले जितेका एक-एक वटा वडा बाहेक सबै एमालेले प्रमुख र उपप्रमुख पनि जितेको छ । 

 

शुक्रबार यो समाचार तयार पार्दा सम्म निर्वाचित भएका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिल्ला सदरमुकाम मन्थली स्थित्, मन्थली नगरपालिकाको सभा हलमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम भैरहेको छ । 

यी हुन् रामेछापका आठ वटै स्थानीय तहका निर्वाचित प्रमुख, उपप्रमुखहरु 

उमाकुण्ड गाउँपालिका
शेरबहादुर सुनुवार, अध्यक्ष (एमाले)
सावित्री सुनुवार, उपाध्यक्ष (कांग्रेस)

गोकुलगंगा गाउँपालिका
काजीबहादुर खड्का दिनेश, अध्यक्ष (कांग्रेस)
उषा वस्नेत कार्की, उपाध्यक्ष (कांग्रेस)

लिखु तामाकोसी गाउँपालिका
केशव महत, अध्यक्ष (कांग्र्रेस)
दिपा पाख्रिन, उपाध्यक्ष (एमाले)

सुनापति गाउँपालिका
ठूलोकान्छा तामाङ, अध्यक्ष (माओवादी)
गिता विष्ट, उपाध्यक्ष (माओवादी)

रामेछाप नगरपालिका
लवश्री न्यौपाने, नगरप्रमुख (कांग्रेस)
बाला कुमारी कार्की, नगरउपप्रमुख (कांग्रेस)

मन्थली नगरपालिका
लव श्रेष्ठ, नगरप्रमुख (एमाले)
ईश्वरी वस्नेत, नगरउपप्रमुख (एमाले)

दोरम्बा शैलुङ गाउँपालिका
मैनकुमार  मोक्तान, अध्यक्ष (माओवादी)
खमला थापामगर, उपाध्यक्ष (कांग्रेस)

खाँडादेवी गाउँपालिका 
ज्ञानकुमार श्रेष्ठ, अध्यक्ष (एमाले)
रमा घिसिङ्, उपाध्यक्ष (एमाले)