दोरम्बा शैलुङ् गाउँपालिकाको कार्यपालिका गठन निर्विरोध टुङ्गियोः अन्य स्थानीय तहको के के हुदै छ ?

| जेठ १५, २०७९ आइतबार

A A A
A A A

१५ जेठ, रामेछाप । दोरम्बा शैलुङ् गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिको पहिलो गाउँकार्यपालिका बैठक भोली सोमबारलाई डाकिएको छ  । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले शनिबार निर्विरोध रुपमा ६ जना कार्यपालिका सदस्य टुङ्गो लगाएसंगै भोलीको लागि बैठक डाकिएको पालिका अध्यक्ष कैनकुमार मोक्तानले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन गरेर चुनाव लडेका त्यहाँ माओवादीलाई ४ र कांग्रेसलाई २ जना सदस्य भागबण्डा लगाएपछि कार्यपालिका निर्विरोध टुङ्गो लागेको हो । 
त्यहाँ नेपाली कांग्रेसबाट बिरबहादुर बि‍क र फुलमायाँ बि‍क कार्यपालिका सदस्य बनेका छन् । 


त्यस्तै माओवादी केन्द्रबाट निमा शेर्पा, रिता महत्ते, देवकुमारी थापामगर र रुपमायाँ श्रेष्ठ निर्विरोध कार्यपालिका सदस्य बने । अल्पसंख्यक र दलितबाट १–१ जना र निर्वाचित वडा सदस्य मध्येबाट चार जना गरी छ जना कार्यपालिकाका सदस्य थपिएका हुन् । उनीहरुलाई शनिबार पालिका अध्यक्ष मोक्तानले सपथ खुवाएका छन् । 

 

यसैबीच जिल्लाका तीन वटा स्थानीय तहमा गाउँ तथा नगरकार्यपालिका गठनको लागि आज मतदान हुदै छ । जसअनुसार उमाकुण्डमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यहाँ दुई पार्टी तालमेल गरेर नेकपा एमालेसंग प्रतिस्पर्धा गर्दै छन् । 

 

यता जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा नगरकार्यसमिति गठनको लागि आज नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल गरेर मतदान हुदै छ । यहाँ नेपाली कांग्रेससंग प्रतिस्पर्धा हुन लागेको हो ।

 

त्यस्तै सुनापति गाउँपालिकामा भोली सोमबार गाउँकार्यपालिका गठनको लागि तयारी भैरहेको छ । त्यहाँ निर्विरोध हुने सम्भावना रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई बताए । त्यस्तै गोकुलगंगा गाउँपालिकामा पनि निर्विरोध हुने सम्भावना रहेको उनले बताए । त्यहाँ सोमबार चुवान हुदै छ । ‘दुई ठाउँमा निर्विरोध हुने सम्भावना छ ।प्रक्रिया पूरा हुने छ ।’ 

 

त्यस्तै लिखु तामाकोशी गाउँपालिकामा पनि आज आइतबार गाउँकार्यपालिका गठनको लागि चुनाव भैरहेको उनले जानकारी गराए । त्यहाँ मिलाउने सहमतिको लागि राजनीतिक दलहरुबीच छलफल जारी छ । 

 

प्रमुख शाहका अनुसार आउदो १८ गते खाँडादेवी गाउँपालिकाको कार्यपालिका गठन गर्ने तयारी रहेको छ । त्यहाँको कार्यपालिका गठन भएसंगै जिल्लाका आठ वटै स्थानीय तहका गाउँकार्यपालिकाले पूर्णता पाउने छ ।