मन्थली खानेपानीको स्थलगत निरिक्षणः पानी प्रयोगशाला पठाउने तयारी, यस्तो छ वास्वतिकता (भिडिओसहित)

| जेठ १७, २०७९ मंगलबार

A A A
A A A

१७ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा मन्थली बासीले उपभोग गर्दै आएको खानेपानीको अवस्था असोस्थकर भएको भन्दै आलोचना भएपछि सरोकारवालाहरुले स्थलगत निरिक्षण गरेका छन् । निरिक्षण टोलीले खानेपानीको मुहानको आवश्यकता अनुसारको संरक्षण हुन नसकेको र त्यसलाई सुधार गर्नु पर्ने अवस्था देखिएको सुझाव समितिलाई दिएको छ । 

 

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले, मन्थली बजारसहित आसपासका बस्तीहरुमा प्रयोग हुदै आएको खानेपानीलाई अव्यवस्थित तरिकाले वितरण गरेको भन्दै आइतबार एक स्थानीय उपभोक्ताले सामाजिक संजालमा भिडिओ मार्फत आपत्ति जनाएपछि सोमबार आपत्कालिन स्थलगत निरिक्षण भएको हो ।


भिडिओमा विश्वास श्रेष्ठ नामका स्थानीय उपभोक्ताले भनेका कुरा । 
खानेपानीमा लेऊ जमेको, दूषित छ । पानीको व्यवस्थापन भएको छैन् । फोहोर छ । पानीको ट्याङ्कि खुल्लै छ । छोपिएको छैन् त्यसैले पशुपंक्षी आएर पानी खाने गरेका देखिन्छ । पानीमा किरा छ । पानी छोपिएको छैन । पानीकै कारणले हामी स्वास्थ हुन सकेका छैनौं । करिव १२ सय घरधुरीले प्रयोग गर्दै आएको पानीको अवस्था यस्तो छ । पानी माछा पोखिर भन्दा पनि तत्लो स्तरको देखिन्छ । वार्षिक ७ लाख २० हजार पैसाउठ्छ । त्यो पैसा कहाँ जान्छ खोजौं । 

भिडिओ हेर्नुहोस्

मन्थली नगरपालाकाका प्रमुख लब श्रेष्ठ, नगरका कर्मचारी, प्रमुख जिल्ला अधिकारी दीपक पहडी, प्रशासनका कर्मचारी, मन्थली खानेपानीका अध्यक्ष पूर्ण सुवेदी, पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे लगाएत स्थानीय अगुवाहरुसहितको स्थलगत अवलोकन टोलीले खानेपानीको बारेमा भिडिओमा आए जस्तो खराबी नबभएता पनि पानीको मुहान खुल्लै भने रहेको देखिएको छ । स्थलगत निरिक्षणका एक सदस्यले भने ‘भिडिओमा भनेको जस्तो समस्या नभएपनि केही सानातिना समस्या भने देखिएको पाइयो । सामान्य नागरिकले अनुभव गर्ने कुरा हुन् । तर, प्राविधिक हिसाबले पानीको मुहान यसैगरी राख्ने नियम रहेछ । संरक्षणको लागि केही आवश्यक काम गर्नु पर्ने जस्तो देखिन्छ ।’


सोमबार भएको स्थलग निरिक्षणपछि प्रमुख जिल्ला अधिकारी पहडीले खानेपानीको बारे सबैभन्दा पहिले यसको परीक्षण लागि प्रयोगशाला पठाउने र त्यसपछि मात्रै थप बोल्ने प्रतिक्रिया दिए । ‘यो पानी प्रयोगशाला पठाउँछौं, रिपोर्ट के आउछ त्यसबाट थप स्पष्ट हुन्छ, सुद्धिकरण बारे परीक्षण गराउछौं भने ।’

 
स्थलगत निरिक्षणमा पुगेका नवनिर्वाचित मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भने कुनै प्रतिक्रिया जनाएनन् । 

 

त्यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सव–इन्जिनियर सन्तोषकुमार ठाकुरले खुल्ला अवधारणा प्रयोगमा रहेको हुँदा  मुहान नछोपिएको भन्दै उनले भने “सिधै पाइपवाट आएको पानीमा धेरै किटाणुहरु हुन्छ, हामीले खाँदा असर गर्छ । त्यसैले किटाणुहरुलाई मार्नको लागि ट्रिटमेन्ट पोखरी निमार्ण गरिएको हो । पोखरीमा जम्मा गरिएको पानीमा ९९ प्रतिशत व्याक्टेरिया मर्ने काम हुन्छ । शुद्धिकरण हुन्छ त्यो भएकोले पनि यो प्रविधि प्रयोगमा ल्याएको हुन सक्छ ।”

आइतबार राति सामाजिसं संजाल मार्फत भिडिओ सार्वजनिक गरेका विश्वास श्रेष्ठ पनि अनुगमन टोलीसंग त्यहाँ पुगेका थिए । तर, उनले आइतबार आफू पुग्दा र टोलीसंग सोमबार पुग्दाको अवस्थामा भने फरक पाएको बताए । ‘हिजोको भन्दा धेरै सफा भएको देखियो, टयाँकी बाहिर र भित्रको अबस्था हिजोको तुलनामा आज निकै सफा छ’ भने ।

 

सम्बन्धित निकायले जिम्मेवारी प्रति सचेत गराउन आफूले जानकारी गराउने पाट मात्रै गरेको उनको भनाई छ ।

 

यता अनुगमन टोलीसंग रहेका खानेपानी तथा उपभोक्ता सर सफाई समितिका अध्यक्ष पूर्ण सुवेदीले प्राविधिकहरुको सल्लाहअनुसारै पानीको ट्याङ्कि, आसपासको क्षेत्रको संरक्षण गर्ने काम भैरहेको जानकारी दिए । उनले भने ‘खुल्ला रिर्जभर टयाँकीको अबधारणा अनुसार प्राविधिकहरुको सल्लाह र सुझवाका आधारमा यसरी राखिएको हो । यसमा हामी काम गरिरहेकका छौं । बाहिर देखिएको जस्तो खराब छैन् प्राविधिक विधिमा ठिक छ ।’ 

सुख्खा ग्रस्त मन्थली बजार आसपारका बासिन्दालाई खानेपानी पुर्याउने उद्देश्यले मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको मचवारी खोला र वडा नं ६ भलुवाजोरको गुवा खोलाको पानी सिधै पाइप मार्फत ल्याइएको छ । उक्त पानी मात्रैले नपुग्ने भएपछि तामाकोशी नदी छेउको भूमिगत पानी विद्युतीय लिफ्ट सिस्टम मार्फत तानेर दैनिक रुपमा उपभोक्ताहरुलाई बितरण हुदै आएको छ ।


यो पानीलाई रिजर्भ ट्याङ्कीमा जम्मा गरेपछि प्यूस, बिलथिन पाउडर लगाएतका व्याक्टेरीया मार्ने पाउडर प्रयोग गरी शुद्ध बनाई पिउनको लागि उपयुक्त बनाएर वितरण हुदै आएको छ । वर्षातको समयमा मचवारी र भलुवाजोर मुहानबाट पुगेको पानी केही धमिलो हुने गरेको छ । त्यसलाई पनि विधि पुर्याएर शुद्धिकरण गर्ने गरेको समितिका अध्यक्ष सुवेदी सुनाउनछन् । उनले थपे ‘पानी जस्तो कुरामा समिति गम्भिरताको साथ लागि परेको छ । हामी प्राविधिक हिसाबले पानीको गुणस्तरमा पछि छैनौं स्वास्थ्य प्रति सचेतछौं ।’