आठ वटै स्थानीय तहका नगर/गाउँकार्यपालिकाले पूर्णता पायोः जिसस समिति गठनमा केन्द्रित

| जेठ १९, २०७९ बिहिबार

बुधबार मन्थली नगरपालिकाका नगरकार्यपालिका सदस्यहरु सपथ खाँदै ।
A A A
A A A

१९ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँकार्यपालिकाले पूर्णता पाएको छ । योसंगै जिल्लाका सबै नगर तथा गाउँकार्यपालिकाले पूर्णता पाएका छन् । 

 

आज बिहिबार खाँडादेवी गाउँपालिकाको कार्यपालिका सदस्य अम्बिका श्रेष्ठ,उमा लामा,गोमा बि‍ क,सानुकान्छी खडका,गोपाल दर्जी र बिमला माझी मनोनित भएका हुन् । उनीहरुले पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठबाट पद तथा गोपनियताको सपथ पनि खाएका छन् । पालिकामा एक वडामा नेपाली कांग्रेस र एकमा माओवादी केन्द्र बाहेक सबै वडामा एमाले बिजयी भएको छ । त्यहाँ एमालेको बहुमत छ । त्यहाँ निर्विरोध रुपमा एमालेले कार्यपालिका सदस्य चयन गरेको हो । 

 

जिल्लाका आठ स्थानीय तह माध्ये मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, लिखु तामाकोशी गाउँपालिकामा कार्यपालिका गठनमा मतदान गरिएको थियो ।

 

त्यस्तै रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा शैलुङ् गाउँपालिका, सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा निर्विरोध कार्यपालिका गठन भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए । 

खाँडादेवी गाउँपालिकाका कार्यपालिका सदस्य बिहिबार सपथ खाँदै । 

योसंगै गत वैशाख ३० गते सम्पन्न पालिका निर्वाचन अब जिल्ला समन्वय समिति तर्फ केन्द्रित बन्दै गएको छ । जिससको पनि आउदो जेठ २९ गतेको लागि गर्ने तयारी भैरहेको उनले बताए । १६ जना प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षले मतदान गर्ने जिससमा नेपाली कांग्रेसको ७, एमालेको ६ र माओवादीको ३ मत रहेको छ । 

 

जसअनुसार जिसस प्रमुख गठनको लागि कांग्रेस र एमाले संग बहुमत नुहँदा माओवादीसंग तालमेल गर्ने पक्षमा दुबै पार्टीले माओवादी केन्द्रसंग छलफललाई तिब्र पारेका छन् ।