मन्थली खानेपानीः पिउन योग्य भएको रिपोर्ट आयो, संरक्षणको काम पनि धमाधम

| जेठ २५, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२५ जेठ, रामेछाप । दूषित पानी वितरण गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड् गरेको आरोप लागेको मन्थली खानेपानी अन्ततः पीउन योग्य भएको रिपोर्ट आएको छ । करिब १२ सय बढी उपभोक्ता रहेको मन्थली खानेपानी जिल्ला सदरमुकाम मन्थली बजारसहित आसपासका क्षेत्रमा वितरण हुदै आएको छ । सो पानीको मुहान खुल्ला रहेको कारण उक्त मुहानको पानीमा किरामरेको, लेऊ लागेको, पशुपंक्षीले खाने गरेको अवस्थामा स्थानीय उपभोक्ता विश्वास श्रेष्ठले सामाजिक संजालमार्फत भिडिओसहित आपत्ति जनाएपछि लगत्तै स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, पत्रकार, उपभोक्ता, स्थानीय अगुवाहरुसहितको अनुगमन टोलीले स्थलगत निरिक्षण गरी प्रशासनले पानी खानको लागि उपयुक्त भए÷नभएको परिक्षणको लागि संकलन गरि प्रयोगशाला (काठमाडौंको पानी पोखरी) मा पठाएको थियो । उक्त पानीको रिपोर्ट पीउनको लागि उपयुक्त अर्थात ९९ प्रतिशत् शुद्ध भएको आएको स्रोतले रामेछाप टाइम्सलाई जानकारी दियो । 

 

खानेपानीको मुहान निकै दूषित अवस्थामा देखिएपछि खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानीको चर्को आलोचना भएको थियो । तर, मन्थली खानेपानी कार्यालयले भने पानी शुद्ध रहेको दाबी गर्दै विज्ञप्ति जारी गरेको थियो । पानीको मुहान भिडिओमा सफा नभएको देखिएपछि पानी प्रयोगशाला पठाइएको थियो ।

 

मंगलबार प्राप्त रिपोर्ट पिउन योग्य आएको जिल्ला प्रशासन कार्यालय रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गीता गुरुङ्ले रामेछाप टाइम्सलाई जानकारी दिइन् । उनले भनिन् ‘पानीमा कोरोरिनको मात्र केही बढाउनु पर्ने भनिएको छ । तर, पानी पिउनको लागि उपयुक्त भएको रिपोर्ट आएको छ ।’ 

यस्तो देखिएको थियो सुरुमा पानीको मुहान भिडिओमा हेर्नुहोस्

बर्खा लागेकाले उक्त पानी बेला–बेलामा प्रयोगशालामा पठाउनु पर्ने र उमालेर खानु राम्रो हुनेमा उनले जोड् दिइन् । मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको मचवारी खोला र वडा नं ६ भलुवाजोरको गुवा खोलाको पानी बर्खामा धमिलो आउने भएकाले पानीमा कोलोरिनको मात्र कम देखिएको उनको दाबी छ । 

 

तामाकोशी नदीसहित यी तीन नदीको पानी मन्थली भञ्जाङ्मा बनाइएको ट्याङ्किमा जम्मा गरि वितरण हुदै आएको छ । यसरी यी तीनै ठाउँको पानीलाई छुट्टाछुटै संकलन गरि परीक्षणको लागि पठाइएको थियो । 

 

नियमित अनुगमन तथा संरक्षण कम भएको स्वीकार गर्दै खानेपानी वितरण केन्द्र मन्थलीले पनि पानी पिउन योग्य रहेको भन्दै पानीको मुहान संरक्षण र पानीलाई शुद्ध बनाउन थप काम धमाधम भैसहेको जनाएको छ । पानीलाई नदीबाट सिधै तानेर मुहानमा झर्ने ठाउँमा बालुवा, ढुङ्गा सहित प्राविधिक विधिबाट शुद्ध बनाउने काम भैरहेको मन्थली खानेपानी स्रोतले रामेछाप टाइम्सलाई बतायो । खानेपानीको पुरानो मुहानलाई भत्काएर नयाँ मुहान निर्माण, पानी छान्ने र पास हुने काम जारी छ । 

 

प्रशासनले परिक्षणको लागि पठाएको हो । रिपोर्ट राम्रो आएको जानकारी आएको छ । यसबारेमा प्रशासनले थप कुरा खुलाउछ होला वितरण केन्द्र निकट स्रोत भन्छन् । प्रशासनलाई रिपोर्ट आएकाले प्रमुख जिल्ला अधिकारीले पत्रकार सम्मेलन गरेर रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।