प्रथम डुङ्गा दौड् प्रतियोगितामा सुनसरी पहिलो, रामेछाप दोस्रो

| असार ५, २०७९ आइतबार

A A A
A A A

५ असार, रामेछाप । ‘प्रथम डुङ्गा दौड्’ प्रतियोगितामा सुनसरी जिल्ला पहिलो भएको छ । दोस्रो भने रामेछाप भएको छ । 


शनिबार हिजो रामेछापमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को आजयोजनामा भएको प्रथम डुङ्गा दौड् प्रतियोगितामा सुनसरी जिल्ला पहिलो हुदै नगद ३० हजारसहित मेडल र प्रमाणपत्र हाँसिल गरेको छ । 

 


तामाकोशी र सुनकोशी नदीको संगमस्थल सेलेघाटमा भएको प्रतियोगितामा रामेछापसहित सिन्धुली र सुनसरी जिल्ला सहभागी भएका थिए । मन्थली नगरपालिकाको आर्थिक सहयोग र माझी उत्थान संघ रामेछापको समन्वयमा परम्परागत खेलकुदलाई संरक्षण र प्रवर्द्धनको लागि संचालित प्रतियोगितामा आयोजक (राखेप) सहित जिल्ला खेलकुद् विकास समितिले आफ्नै नीति र विधि बनाएका थिए । सो नियम अनुसार २ जनाको ‘सिङ्ग’ र ४ जना सवार हुनेलाई ‘डबल’ विधार मानिएको थियो ।

 


जसमा सुनसरी ‘डबल’तर्फ चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी, र भेषबहादुर माझीले २ मिनेट ५३ सेकेन्डमा डुङ्गा पार गर्दै प्रथम बनेका हुन् । 

 


त्यस्तै ‘सिङ्गल’मा पनि सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझीले १ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रथम बनेका हुन् । ‘सिङ्गल’मा पहिलो हुनेले नगद २० हजार सहित मेडल र प्रमाणपत्र पाएका छन् । 

 

प्रतियोगितामा आयोजक जिल्ला समेत रहेको रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुम ‘डबल’तर्फ रामबाबु माझी,भरत माझी, कुस्मान माझी, र काले माझी दोस्रो बन्दै नगद २० हजार मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुले १ मिनेट ५९ सेकेन्डमा दूरी पार गरेका थिए ।


 
त्यस्तै ‘सिङ्गल’ तर्फपनि खाँडादेवी गाउँपालिका ३ कोथबेका जनक माझी र बुद्धिमान माझीले १ मिनेट ३२ सेकेन्डमा डुङ्गा पार गर्दै दोस्रो बनेका छन् । उनीहरुले नगद १५ हजार मेडल र प्रमाणपत्र पाएका छन ।

 

त्यस्तै मन्थली नगरपालिका ६ सेलेघाटका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझी ‘डबल’तर्फ २ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बनेका छन् । उनीहरुले नगद १० हजार मेडल र प्रमाणपत्र पाएका छन् । 

 


उता पाउन टोली सिन्धुलीको सुनकोसी गाउँपालिका ३ रातमाटाका दिपक माझी, साजन माझी सिङ्गलतर्फ तेस्रो हुदै नगद् १० हजार मेडल प्रमाणपत्र पाएका छन् । उनीहरुले १ मिनेट ३३ सेकेन्डमा दूरी पार गरेका हुन् । 

 


जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकिय प्रवर्द्धको लागि आयोजित प्रथम डुङ्गा दौड्ले जिल्लामा माझी जातीको पूर्खौली पेशाको सम्वर्धन र संरक्षणमा टेवा पुर्याउने उद्देश्य लिएको छ । खेलको (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्ले उद्घाटन गरेका थिए । 

 

सेलेघाटमा भब्य कार्यक्रमसहित आयोजित प्रतियोगितामा जिल्लाका प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल, पत्रकार, आमजनताको सहभागिता थियो ।