सुनापति गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने

| असार ११, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

११ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले रेडियो संचालन गर्ने भएको छ । पालिकाले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पालिकाले यस्तो नीति लिएको उल्लेख गरिएको हो ।


नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपप्रमुख गीता विष्टले गाउँपालिकाले गरेका कामहरुको प्रचारप्रसार तथा सूचना प्रचारप्रसारको लागि पालिकाले रेडियो संचालन गर्ने बताइन् ।

 


जिल्लामा सामुदायिक तथा निजी रेडियो गरी हाल १० वटा रेडियो संचालित छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थलीबाट रेडियो झंकार, रेडियो रामेछाप, रेडियो तिन्लाल, रेडियो तिफदी, रेडियो ईनर्जी संचालित छन् । 



रामेछापको रामेछाप नगरपालिकाबाट हजुरको रेडियो संचालित छ । यता गोकुलगंगा गाउँपालिकामा रेडियो वन संचालित छ । उमाकुण्डमा रेडियो कैरन र रेडियो लिखु संचालित छन् । रेडियो लिखु उचित स्रोत र कार्यक्रम बजेट नहुदाँ करिब ३ वर्ष बन्द भएर भर्खरै प्रसारण सुरु भएको छ । 



उता दोरम्बा शैलुङ् गाउँपालिकामा रेडियो ताल्चुगढि संचालनमा छ । यी रेडियोहरु संचालनको लागि आवश्यक विज्ञापन, कार्यक्रम प्रर्याप्त नभैरहेको अवस्थामा फेरी नयाँ रेडियो खोल्ने नीति अगाडि आएको हो ।