रामेछापमा कैद भुक्तान गर्दै आएका १२१ जना कैदीबन्दीको निःशूल्क आँखा परिक्षण

| असार १६, २०७९ बिहिबार

A A A
A A A

१६ असार, रामेछाप । जिल्लाका कारागार रामेछापमा कैद भुक्तान गर्दै आएका कैदिबन्दीको निःशूल्क आँखा परिक्षण गरिएको छ । 

 

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजना, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछापको पहल र रामेछाप सहयोगी मनहरु (रासम) को सहकार्यमा दुई दिने निःशूल्क आँखा परिक्षण गरिएको रासमका सदस्य बिपिन भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार गत असार १४ र १५ गते जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको रामेछाप डाँडास्थित कारागारमा कैदभुक्तान गर्दै आएका एक सय २१ जना कैदीबन्दिको निःशुल्क आँखा परिक्षण गरिएको हो । 

 

लामो समयदेखि विभिन्न अपराधिक गतिविधिमा संलगन रहेको पुष्टि भएपछि कैद भुक्तान गरी जेल जिवन बिताउदै आएका उनीहरुमा आँखा चिलाउने, पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र मासु पलाएको लगाएतका समस्या देखिएको परिक्षणमा भेटिएको सिनियर आँखा स्वास्थ्य चिकित्सक पुस्कल घिमिरे बताए । 

 

नेत्रसहायक उमेश तमाङ नेतृत्वमा गरिएको परिक्षणमा जेल जिवन बिताउदै आएका कैदीले आफूहरुको निःशूल्क आँखा परिक्षण हुदाँ हर्षित भए । 

 

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै अदालतले जेल चलानको लागि अनुमति दिएपछि जेल जिवन बिताउन बाध्य भएका उनीहरुको स्वास्थ्य रहन पाउने अधिकारलाई लक्षित गर्दै परिक्षण गरिएको हो । 

 

आँखा परिक्षण कार्यक्रममा बोल्दै कारागार प्रमुख रामकृष्ण घिमिरेले कैद भुक्तान गर्दै आएका कैदी बन्दीको स्वास्थ्यसंगै सिपमूलक काम गर्ने वातावरण बनाउन आवश्यक रहेको सुनाए । उनले त्यसको लागि आवश्यक सामानको व्यवस्थापन गराइदिने सम्बन्धित निकायलाई ध्यानाकर्षण गरे । 

 

त्यस्तै रासम सदस्य जय मानन्धरले कैदी पनि मानवनै रहेको भन्दै उनीहरुलाई गर्ने व्यवाहार मानविय हुनु पर्नेमा जोड् दिए ।