कांग्रेसपछि एमाले रामेछापले पनि भन्यो ‘जनमतद्वारा जिल्लामा पहिलो पार्टी’
९ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले पनि गत स्थानीय तहमा आफू पहिलो दल भएको दाबी गरेको छ । यस अगाडिनै नेपाली कांग्रेसले जिल्लामा आफू जनताको मतद्वारा पहिलो पार्टी भएको भनेको थियो ।
गत शुक्रबार र शनिबार बसेको नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको चौथो पूर्ण बैठकको निर्णयमा एमालेले आफू जनताको लोकप्रिय मतको आधारमा पहिलो दल भएको उल्लेख गरिएको छ ।
पार्टी अध्यक्ष आनन्द कुमार श्रेष्ठले प्रस्तुत गरेको स्थानीय तह २०७९ निर्वाचन केन्द्रीत समिक्षा प्रतिवेदनमा ‘लोक प्रिय मत र बिजयी सिट संख्या दुवैको आधारमा एमालेलाई रामेछापमा पहिलो दल बनाएकोमा आममतदातामा धन्यवाद्सहित आभार व्यक्त गर्दछौं भनिएको छ ।’
एमालेले जिल्लामा ३ पालिका प्रमुख सहित २४ वटा वडा जितेको छ । एकल चुनावी मैदानमा उत्रिएको एमालेले ४३ हजार ६ सय ९० मत पाएको प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै नेपाली कांग्रेसले ३ पालिका प्रमुख, ४ उपप्रमुख र २४ वटा वडा जित्तेको छ । जिल्लामा आठ स्थानीय तह रहेको रामेछापमा एमालेले मन्थली नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।
त्यस्तै खाँडादेवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, उमाकुण्ड गाउँपालिकामा प्रमुख, लिखु तामाकोशी गाउँपालिकामा उपप्रमुख जितेको छ ।
त्यस्तै चुनाव सम्पन्न भए लगत्तै मतदातामा धन्यवाद् समेत दिएको नेपाली कांग्रेसले रामेछाप नगरपालिकामा प्रमुख, उपप्रमुख, गोकुलगंगा गाउँपालिकामा प्रमुख, उपप्रमुख, उमाकुण्ड र दोरम्बा शैलुङ् गाउँपालिकामा उपप्रमुख–उपप्रमुख, लिखु तामाकोशी गाउँपालिकामा प्रमुख जितेको छ ।
