एसईई नतिजाः जिल्ला भरी यी दुई छात्रले पाए ४ जीपीए, १५२ जनाको ‘नन् ग्रेड्’
१४ साउन, रामेछाप । गत बुधबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजामा रामेछापका डेढ सय भन्दा बढीले ‘नन्’ ग्रेड् नम्बर ल्याएका छन् । सरकारी विद्यालयका दुई जना छात्रले भने ४ जीपीए ल्याएका छन् ।
कूल तीन हजार चार सय १९ जनाले परीक्षा दिएकोमा एक सय ५२ जनाले १.६ भन्दा मूनी जीपीए पाएका हुन् । उनीहरुले माथिल्लो तहमा बढ्न पाउने छैनन् ।
जिल्ला भरिकै शैक्षिक उपलब्धि निकै कम्जोर देखिएको यो नतिजा अनुसार तीन हजार ३ सय ११ जनाले माथिल्लो तहमा पढन पाउने अर्थत १.६ भन्दा माथि जीपीए ल्याएका छन् ।
जसअनुसार १.६ देखि २ जीपीएसम्म ७८१, २ देखि २.४ जीपीएसम्म एक हजार ६४, २.४ देखि २.८ जीपीएसम्म ७२३, २.८ देखि २.३ जीपीएसम्म ३६२, ३.२ देखि ३.६ सम्म जीपीएसम्म १४८ सम्म ग्रेड् ल्याएका छन् । ३.६ देखि ४ जीपीएसम्म ८१ जनाले पाएका छन् ।
त्यस्तै ४ जीपीए भन्दामाथि भने देशभरी जम्मा ४२ जनाले पाउँदा रामेछापमा सुनापति गाउँपालिकाको दुर्गम स्थानमा रहेको सरकारी विद्यालयका दुई जना छात्रले पाएका छन् । जिल्ला सदरमुकामका निजी बोर्डिङ् तथा सरकारी विद्यालयलाई पछि पार्दै दुर्गम गाउँको विद्यालयले उत्कृष्ठता हाँसिल गरेको हो ।
बेथानको डहु स्थित मावि डहुका दुई छात्र प्रतिक थिङ र राजन लामाले ४ जीपीए पाएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । सो विद्यालयबाट एसईई परीक्षामा सहभागी बनेका २७ जना विद्यार्थी मध्ये उनीहरुले ४ जीपीए पाउदै शैक्षिक क्षेत्रमा विद्लयसंगै जिल्लाको नाम राखेका छन् ।
कोरोना महामारीको चपेटामा परेको तत्कालिन शैक्षिक अवस्थाबाट माथि उठेर उनीहरुले राम्रो नतिजा ल्याएका हुन् । शिक्षा इकाई प्रमुख श्रेष्ठका अनुसार जन्ममिति, सिम्बोल नम्बर, नाम थर लगाएतका विवरण ‘मिस्टेक’ र सच्याउनु पर्ने १०८ जनाको ‘रिजल्ट’ पूर्ण भएको छैन् ।
विविध कारणले शैक्षिक क्षेत्रमा पछि परेको जिल्लामा ५० जना भन्दा बढिले परीक्षामा सहभागिता नजनाएको प्रमुख श्रेष्ठले बताए । जिल्लाभरि ‘डि प्लस र सी ग्रेड्’ मात्रै धेरै विद्यार्थीले पाएका छन्, यो नतिजा सन्तोष जनक छैन प्रमुख श्रेष्ठ बताउछन् ।
उनले कोरोना महामारीले पूरै कक्षाहरु संचालन नभएको अवस्था आएको यो नतिजालाई धेरै नकारात्कम हेर्न नहुने तर्क गर्दै आगामी दिनमा धेरै सुधार गर्नु पर्ने देखिएको बताउछन् ।
गत २ वर्ष आन्तरिक मूल्याङ्कनबाटै (एसईई) मूल्याङ्कन गरेर नतिजा सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोड्ले, यो पटक भने भौतिक उपस्थितिमा गत बैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा लिएको थियो ।
