सभापतिले पदबाट हटाएपछि उपसभापति थोकरले भने ‘प्रा.लि र पार्टी फरक तरिकाले चलाउनु पर्छ, नत्र धेरै दिन टिक्दैनन्’

| साउन १९, २०७९ बिहिबार

A A A
A A A

१९ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापका उपसभापति नवराज थोकरले जिल्लामा पार्टी प्रा.लि जस्तो भएको टिप्पणी गरेका छन् । साथै पार्टी प्रा.लि जस्तो व्यक्तिले जे चायो त्यही गर्न नपाईने भन्दै नीति र विधिमा चल्नु पर्नेमा जोड् दिएका छन् । 

 

आज बिहिबार सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभापति थोकरले पार्टी नेतृत्वले प्रा.लि जसरी चलाउन खोजेको आक्रोश व्यक्त गरेका हुन् । उनले लेखेका छन् ‘प्रा‍.लि र पार्टी संचालन गर्ने विषय आकाश र जमिनबीचको जस्तै छ । प्रा.लि तपाईको इच्छा र आकांक्षा बमोजिम चल्छ, त्यहीँ अनुरुप पार्टी चल्न सक्दैन । प्रा.लि तपाईंको एकल स्वामित्व भएकोले तपाईले जे, गर्दा पनि भयो, पार्टी एकल स्वामित्वमा रहेको निजी सम्पत्ति होइन ।’

 

गत बुधबार बसेको पार्टीको बैठकले उपसभापति थोकर संयोजक रहेको पार्टी प्रशिक्षण समितिको जिम्मेवारी खोसेको थियो । थोकरको ठाउँमा पार्टी सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले अर्का पार्टी उपसभापति लेखबहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । यसबाट थोकर रुष्ट बनेका हुन् ।  

 

सोही विषयमा आक्रोशित थोकरले पार्टी र प्रा.लि भन्दै आक्रोश पोखेका हुन् । उपसभापति थोकरले पार्टीले सिद्धान्त, विचार ,सगंठन साथै करोडौं जनताको सपनाहरु बोकेको स्मरण गराएका छन् । 

 

पार्टी सभापति ‘कान्छाराम’ को कार्याशैली प्रति असन्तुष्ट जनाउदै बर्खास्तीको माग समेत गरिएको तत्कालिन अवस्थामा बसेको बैठकले थोकरको जिम्मेवारी खोसेको थियो । थोकरले निरंकुश प्रवृत्ति धेरै दिन टिक्न नसक्ने समेत उल्लेख गरेका छन् । साथै पार्टी नेतृत्वले समर्थक र आलोचक दुबैलाई एकीकृत गर्ने सामर्थ्य राख्नु पर्नेमा सुझाएका छन् । 

 

यसरी मिलाएर जान नसकेको खण्डमा नेतृत्व र संगठन निमित्त घातक हुने बताएका छन् ।