आजदेखि मतदाता नामावली संकलन स्थगितः कती थपिए नयाँ मतदाता ?

| साउन २०, २०७९ शुक्रबार

फाईल तस्विर ।
A A A
A A A

२० साउन, रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । 


सरकारले हिजो बिहिबार आगामी मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा गर्ने मिति घोषणा गरेपछि आजदेखि जिल्लामा नामावली संकलनको काम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 


कार्यालयले एक विज्ञप्ति जारी गर्दै ‘निर्वाचन आयोगको परिपत्र अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) “निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदातानामावलीमा नाम दर्ता गरिने छैन” को व्यवस्था बमोजिम आज गतेदेखि अर्को व्यवस्था नभए सम्मको लागि जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय, रामेछापबाट भइरहेको मतदाता नामावली संकलन स्थगित गरिएको छ, भनिएको छ ।’ 


यसअगाडि आयोगले स्थनीय तहको निर्वाचन सम्पन्न भएपछि मतदाता नामावली संकलन सुरु गरेको थियो । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल एक लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेका थिए । जसमा एक लाख १७ हजार २ सय ४२ खसेको थियो । यो कूल ६५.५४ प्रतिशतले मतदान हो । 

 

यो बिचमा कति मतदाता नयाँ थपिए भन्ने विवरण आइनसकेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई बताए । ‘नयाँ विवरण माथिबाट आउन बाँकि छ । केही दिनमा आउछ ।’