आत्महत्याको डरलाग्दो तथ्याङ्क: मुलुककै तेस्रो स्थानमा रामेछाप, गत वर्ष ४५ जनाले लिए ज्यान

| असोज ३, २०७९ सोमबार

आत्महत्या न्यूनिकरण सम्बन्धि सडक र्याली ।
A A A
A A A

३  असोज, रामेछाप । रामेछाप जिल्ला आत्महत्या धेरै हुने जिल्ला मध्ये नेपालकै तेस्रो स्थानमा परेको छ । पहिलो नम्बरमा मोरङ् पर्दा तराईका दुई जिल्ला परेका छन् । त्यसपछि रामेछाप रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद् ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए ।

आत्महत्या न्यूनिकरण सम्बन्धि अन्तर्क्रिया कार्यक्रम ।

उनका अनुसार विविध कारणले बालबालिकादेखि ६० वर्ष माथिका वृद्धवृद्धाहरु पनि आत्महत्या गरेर आफ्नो ज्यान लिने गरेको तथ्याङ्कले देखाएको छ ।जसअनुसार गत आर्थिक वर्ष २०७८-७९ मा ४५ जनाले आत्महत्या गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा ४४ प्रतिशतले घटेको देखिएको उनले बताए ।

 

आइतबार जिल्ला सदरमुकाम मन्थलीमा भएको आत्महत्या रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुलुकभर आत्महत्याबाट ज्यान गुमाउनेहरुको डरलाग्दो तथ्याङ् सार्वजनिक गरिएको छ । जसअनुसार देशभर ४६ हजार ९०२ मुद्दा दर्ता भएकोमा ६ हजार ९७६ जनाले आत्महत्या गरेको देखिन्छ ।

सहभागीहरु ।

त्यस्तै रामेछापमा गत वर्ष कूल १८८ प्रतिशत मुद्दा दर्ता भएकोमा २४ प्रतिशत आत्महत्याको मात्रै मुद्दा रहेको सूचना अधिकारी ढकालले बताए । आठ स्थानीय तह रहेको जिल्लामा सबै भन्दा धेरै उमाकुण्ड गाउँपालिकामा १२ जनाले आत्महत्या गरेका छन् ।

 

त्यस्तै खाँडादेवी गाउँपालिकामा ४, दोरम्बा शैलुङ्मा ५, मन्थली नगरपालिकामा ८, रामेछाप नगरपालिकामा २, लिखु तामाकोशीमा ८ र सुनापतिमा ६ जनाले आत्महत्या गरि ज्यान लिएका छन् । गोकुलगंगा गाउँपालिकामा भने गत वर्षमा आत्महत्या शून्य देखिन्छ । तर, चालु आवमा सोही पालिकामा एक जनाले आत्महत्या गरेका छन् ।

 

सार्वजनिक तथ्याङ्क अनुसार १९ वर्षदेखि २५ वर्ष सम्मका १२ जनाले आत्महत्या गरेका छन् । जसमा बालिका २, बालक ३, महिला २१ र पुरुष १९ जना रहेका छन् ।