उमाकुण्ड गाउँपालिकाले सञ्चालन गरेको एक हप्ते घुम्ती शिविरमा ५ सय बढीले सेवा लिए

| असोज ६, २०७९ बिहिबार

A A A
A A A

६ असोज, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सञ्चालन गरेको एक हप्ते एकीकृत घुम्ती शिविर सेवामा ५ सय भन्दा बढीले सेवा पाएका छन् । गत भदौ ३० गते वडा नं ७ भुजी देखि सुरु भएको उक्त शिविर पालिकाको वडा नं १ गुम्देलमा सेवा प्रदान गरेर बुधवार सम्पन्न भएको हो । 

 

 

पालिकाले सञ्चालन गरेको उक्त शिविरमा पालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ र लाप्चाने सेवा केन्द्रका प्रशासकीय प्रमुख उदयराज गौतम सहितको टोलीले स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै गाउँघर केन्द्रित सेवा प्रदान गरेको पालिकाले जनाएको छ । 

 

सो शिविर मा २४३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यस्तै ज्येष्ठ नागरिकको प्रमाणपत्र १४० जनाले, अपाङ्गता परिचयपत्र ३८ जना लिएका छन् । जसमा ‘क’ वर्ग १ जनाले, ‘ख’ वर्गको १९ जनाले, ‘ग’ वर्ग १० जनाले र ‘घ’ वर्ग ६ जनाले लिएको प्रमुख प्रशासकीय दिलकृष्ण श्रेष्ठले जानकारी दिए । 

 

चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त शिविर मा ७४ वटा योजना सम्झौता भएका छन् । त्यस्तै व्यावसायिक दर्तातर्फ १२६ वटा ,नवीकरण २७ वटा र इजाजत पत्र १०८ वटा वितरण गरिएको प्रशासकीय श्रेष्ठले जानकारी दिए । 

 

त्यस्तै ३०८ जना नागरिकको सामान्य स्वास्थ्य जाँच गरिएको जानकारी गराइएको छ ।