मन्थली देवकोटा चोकमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

| असोज ७, २०७९ शुक्रबार

A A A
A A A

७ असोज, रामेछाप । रामेछापको मन्थलीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिएको दशै, तिहारमा यात्रुका समस्यालाई न्यूनीकरण एवं समाधान गर्नको लागि सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरीका वरिष्ठ नायव निरीक्षक चन्द्रकुमार श्रेष्ठ (फाँजूँ) ले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘यात्रुको सहायता र सहयोगको लागि सहज होस् भन्ने उद्देश्यले कक्ष स्थापना गरिएको हो ।’ 

 

जिल्ला सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा कक्ष  शुक्रबार स्थापना गरिएको हो । 

 

उनका अनुसार गत वर्षमा पनि यात्रु निकै समस्यामा परेकाले उक्त समस्यालाई बुझेर यो पटक समयमै कक्ष स्थापना गरिएको हो । सो कक्षमा यात्रुले २४ सै घण्टा सम्पर्क गर्न सकिने श्रेष्ठले बताए । उनले भने ‘प्रहरी कार्यालय पुगी बस्दा गाडी छुट्ने, झण्जटिलो हुने हुँदा चोकमै भएमा त्यो समस्या पर्दैन ।’

 

 

काठमाडौँका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी उपत्यका बाहिरिने यात्रुको सेवाबिच जिल्ला भित्रिएपछि  ठगिन सक्ने सम्भावनालाई प्राथमिकता राखेर कक्ष सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले दशै, तिहारको लागि यात्रु बोकेर जिल्ला भित्रिने सवारीसाधनले क्षमता भन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको छ ।