२१ घण्टा सम्म बालिकालाई बाँधेको छुवाछुत घटना प्रकरणः ऐतिहासिक फैसला गर्दै पीडकलाई ४ वर्ष जेल र २ लाख ३० हजार जरिवाना

| असोज ८, २०७९ शनिबार

A A A
A A A

८ असोज, रामेछाप । तल्लो जातको भएर आफ्नो घरभित्र पसेर दही चोरेर खाएको आरोप लगाउँदै २१ घण्टासम्म घरको थाममा बाँधेर हातपात तथा अमानवीय व्यवहार गर्ने ६३ वर्षीय शेरबहादुर श्रेष्ठ (नगरकोटी) लाई साँढे ४ वर्ष जेल सजाएको फैसला भएको छ । यो फैसला छुवाछुत तथा जातीय विभेद सम्बन्धि घटनामा देशकै ऐतिहासिक फैसला भएको सरकारी वकिलहरूको भनाई  छ । 

गत २०७८ साल फागुन ३० गते मन्थली नगरपालिका स्थित वडा नं ६ भलुवाजोरमा १३ वर्षीय नाबालिका सरिता नेपालीमाथि (पीडितको स्वीकृतमा) छिमेकी श्रेष्ठको परिवारले तल्लो जातको भएर घरभित्र पसेर दही चोरेर खाएको आरोपमा बालिकालाई २१ घण्टासम्म बाँधेर सिस्नुपानी लगाएर कुट्पीट् गरेका थिए । सो समयमा ती बालिकालाई पहिलो पटक महिनावारी भएको विभिन्न प्रमाणहरूले पुष्टि भएको छ । 

 

यसरी थाममा बाँधेर राखिएकी बालिकाको शरीरमा झिँगा भन्किरहेको अवस्थामा पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरीले बाँधेको दाम्लो फुकालिदिएको थियो । दलित भएर आफ्नो घरमा पसेर घर अछुत बनाएको भन्दै श्रेष्ठको परिवारले घरको जिम्मा लिनुपर्ने, रुद्रिपूजा लगाउने खर्चा दिनु पर्ने माग गरेका थिए । 

 

लगत्तै श्रेष्ठलाई प्रहरीले पक्राउ गरी जातीय छुवाछुत तथा शरिरबन्दक मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । करिब ७ महिनासम्म गरेको छलफल तथा बहसपछि शुक्रवार जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले श्रेष्ठलाई जातीय विवेद्मा मुद्दामा एक वर्षकैद र ७५ हजार जरिवाना फैसला गरेको अधिवक्ता एमकुमारी डँडेलले जानकारी दिइन् । 

 

त्यस्तै श्रेष्ठकी श्रीमती समेत रहेकी बालकुमारी श्रेष्ठलाई ३ महिना कैद र ५० हजार जरिवाना फैसला भएको अधिवक्ता डँडेलले जानकारी दिइन् । 

भिडिओ हेर्नुहोस्

 

 

त्यस्तै तत्कालीन समयमा घरबाहिर रहेका श्रेष्ठका छोरा रोशनले भने सपाइ पाएका छन् । उनी घरबाहिर भएकाले फोनबाट केही संलग्नता देखिए पनि भौतिक प्रमाणको आधारमा फितलो भएका कारण उनले सपाइ पाएको अर्का अधिवक्ता मोहन शाह शंकरले बताए ।

 

रोशनले फोनमा ती बालिकाको गल्ती स्वीकार्न नसकिने, तल्लो जातभएर त्यस्तो गल्ती गर्ने भन्ने आरोप लागेपनि प्रहरीले फोन गरेको सिडिआर रिपोर्ट नल्याएका कारण उनले सपाइ पाएको वकिलहरूको भनाई छ । जातीय छुवाछुत मुद्दामा उनीहरूले पीडितलाई क्षेतीपूर्ती स्वरुप ७० हजार पीडकबाट भराउने आदेश भएको अधिवक्ता डँडेलले बताइन् । 

 

त्यस्तै सोही घटनाको शरिरबन्दक मुद्दामा शेरबहादुरलाई प्रतिवादी बनाइ ३ देखि ५ वर्ष कैद माग गरिएको थियो । उक्त मुद्दामा शेरबहादुरलाई ३ वर्ष ६ महिना कैद र ३५ हजार जरिवाना फैसला भएको अधिवक्ता डँडेलले बताइन् । साथै पीडकले पीडितलाई १४ सय रुपैयाँ राहात रकम जम्मा गर्नु पर्ने फैसला भएको उनले बताइन् । 

 

 

यसरी श्रेष्ठलाई कूल २ लाख ३१ हजार ४ सय रुपैयाँ जरिवाना र  साँढे ४ वर्ष फैसला भएको हो ।

पत्रकार भेट्घाट

शनिवार बिहान राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला कार्यसमिति रामेछापले सोही घटनालाई टुङ्गोमा पुर्‍याउन संस्थाले खेलेको भूमिका बारे पत्रकार भेटघाटमा बोल्दै अधिवक्ताहरूले जातीय छुवाछुत घटनामा यसरी छोटो समयमै टुङ्गो लागेको र पीडितलाई न्याय हुने गरी यो देशभरिमै पहिलो फैसला भएको बताए । ‘मुद्दा दर्ता हुन्छन्, बहस हुन्छन् तर, यसरी पीडितलाई न्यायोचित हुने गरी जातीय छुवाछुत केसमा यो देशकै पहिलो फैसला हो । यो ऐतिहासिक फैसला हो अधिवक्ता डँडेलले भनिन् ।’ 

त्यस्तै बालिकाका ठूलो बुबा सार्के नेपालीले अन्यायमा परेकाले पनि न्याय पाउने रहेछन् भन्ने अनुभूति भएको विश्वास व्यक्त गरे । उनले पहिलो कुनै मुद्दा मामला नगरेको भन्दै घटनाले यस्तो फैसला आउनेमा आफूलाई आशा नभएको बताए । ‘जातीय छुवाछुतमा काम गर्ने संस्थालाई उनले आभारी छु, हामीले न्याय पयौँ । दिलाइदिनुभयो धन्यछु भने ।’

 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार टिका प्रसाद् भट्टाले यो घटनाले आफू स्तब्ध भएको सुनाए । फैसला न्यायोचित भएको भन्दै समाजमा परिवर्तनको लागि निकै समय लाग्ने आँकलन गरे । ‘समाजमा विवेद् थियो, छ र रहिरहन्छ । हामी सबै सचेत नभए सम्म उनले भने ।’ यस्ता घटना रोक्न सबैको भूमिका हुने उनले जोड् दिए । 

 

त्यस्तै पत्रकार महासंघ रामेछापमा अध्यक्ष बद्रि नयाँ घरेले समाज अझैपनि सोचेको जस्तो परिवर्तन भैनसकेको भन्दै हामी त्यस तर्फ अग्रसर हुनु पर्नेमा जोड् दिए ।