भतिजी बुहारीमाथि जबरजस्ती करणी प्रकरणः आरोपी कठेत धरौटीमा छुट्दै, पीडित भनिएकी यादवले गरिन् हातपात

| असोज २८, २०७९ शुक्रबार

A A A
A A A

२८ असोज, रामेछाप । आफ्नै भतिजी बुहारीमाथि जबरजस्ती करणी गरेको आरोमा पुर्पक्षको लागि जेल चलान भएका व्यवसायी पवन कठेत धरौटीमा छुट्ने भएका छन् । भतिजी बुहारी बिनु यादवले भने कठेत छुट्ने भयसँगै यसको विरोध स्वरूप कठेतको घरमा पुगेर झगडा गरेकी छिन् । 

 

गत भदौ २१ गते जिल्ला अदालत रामेछापले कठेतलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो । सो फैसलाको बिरुद्धमा कठेतले उच्च अदालत पाटनमा दायर गरेको रिटमा उच्चले कठेतलाई नगद २ लाख धरौटीमा छाड्न बिहीबार फैसला गरेको सुरेन्द्र कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘उच्चले २ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । उहाँ आज छुट्दै हुनुहुन्छ कार्कीले रामेछाप टाइम्ससंग भने ।’ 

 

यसै विषयमा बुझ्न खोज्दा कठेतको फोन सम्पर्क भएन । उनी गत भदौ २ गते जिल्ला प्रहरी कार्यालय रामेछाप नजिकैबाटै पक्राउ परेका थिए । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ घर भएका ४२ वर्षीय पवनकुमार कठेत हाल मन्थलीमा बसोबास गर्दै आएका छन् । उनी रामेछाप उद्योग वाणिज्य संघ रामेछापको कोषाध्यक्ष समेत हुन् । कठेत धरौटीमा छुट्ने पक्का भएको रामेछाप उद्योग वाणिज्य संघ स्रोतले पुष्टि गरेको छ । 

 

यसैबीच कठेत धरौटीमा छुट्ने भएपछि पीडित भनिएकी भतिजी बुहारी नाता पर्ने बिनु यादवले भने मन्थली स्थित कठेतको घरमा पुगेर उनका परिवारमाथि हातपात तथा होहल्ला गरेकी छन् । आज शुक्रबार दिउँसो यादव कठेतकी श्रीमती, छोरी सहित अन्य छिमेकीहरू ९÷१० जना बसेर चिसो खाँदै गरेको बेलामा पुगेर तथानाम गालीगलौज गर्दै हात हालेको कठेतकी छोरीले बताइन् । उनले भनिन् ‘हामी बसेर चिसो खाँदै थियौँ । एक्कासि आएर तथानाम बोल्दै दाई लाई झापडै झापड हानिन् । त्यसपछि ममी र मैले छुटाउन खोज्दा हामीलाई पनि कुटिन् । मेरो हातमा चोट लागेको छ । ममीको पनि चोट छ ।’ 

 

यद्यपि कठेतकी छोरीले बुबा पवन छुट्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताइन् । यसबारेमा मलाई थाहा छैन । हामी पहिलेकै घटनाले दुखित छौँ । अरू कुरा गर्दिन । हामी माथि हातपात भएको हो उनले भनिन् ।’ 

 

उनीहरू बसेकै ठाउँमा गएर यादवले हातपात गरेको मन्थली नगरपालिका वडा नं २ कठजोरका वडा अध्यक्ष समेत रहेका सुरेन्द्र कार्कीले पनि बताए । ‘उनीहरूमाथि हातपात भयो । बसिरहेकै ठाउँमा यस्तो हुन थाल्यो सबैले बोल्दिनु पर्‍यो उनले भने ।’ 

 

बिनुले कठेतको घरमै पुगेर गरिन हातपात

घरमै पुगेर हातपात गरेकी यादव भने सोही झगडाको क्रममा बेहोर भएर ढलेपछि प्रहरीले उनलाई अस्पताल तर्फ लगेको कार्कीले जानकारी गराए । यस विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापले भने बोल्न चाहेन । सञ्चार शाखाका एक प्रहरी अधिकारीले भने ‘घरको छेउमा हल्ला खल्ला भैरहेको क्रममा उनी ढलेपछि मोबाइल टोलीले उनलाई अस्पताल तर्फ लागेको भनिएको छ । त्यस बाहेक अरू जानकारी हामीलाई छैन ।’

हातपात भएर पोते चुडिएपछि कठेतकी श्रीमत । तस्बिर सुरेन्द्र कार्कीबाट । 

घटना बारे बुझ्न यादवसँग सम्पर्क गर्न खोज्दा उनको फोन लागेन ।