चुनावमा करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिँदै, ‘म्यादी प्रहरी’लाई भाइ टीकापछि कार्यस्थलमा खटाइने

| कात्तिक ६, २०७९ आइतबार

म्यादी प्रहरी भर्ना, फाइल फोटो ।
A A A
A A A

६ कात्तिक, रामेछाप । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि रामेछापमा करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल पार्न जिल्लामा चार तहका सुरक्षा टिम परिचालित हुने छन् । आवश्यकता अनुसार अन्य सुरक्षा टिम तयारी अवस्थामा हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

आइतबार रामेछाप टाइम्ससंग कुरा गर्दै जिल्ला प्रहरी प्रमुख राजकुमार थिङ्ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी गरेर करिब २५ सय हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जानकारी दिए । 

 

उनका अनुसार ६५० नेपाल प्रहरी र एक हजार एक सय म्यादी प्रहरी परिचालित गर्ने टुङ्गो लागि सकेको छ । भने, सशस्त्र प्रहरी र नेपाली सेना आवश्यकताको आधारमा परिचालित गर्ने तयारी बारे छलफल भइरहेको छ । 

 

म्यादी प्रहरीलाई अहिले १० दिने तालिम अन्तर्गत तालिम सञ्चालन भइरहेको छ । उनीहरूको तालिम अन्तिम चरणमा पुगेकाले तिहारको भोलि पल्ट ११ गतेदेखि काममा खटाउने तयारी भइरहेको सूचना अधिकारी राजप्रसाद ढकालले रामेछाप टाइम्सलाई जनाकारी दिए । ‘लक्ष्मी पूजाको दिनदेखि तालिम सकिँदै छ। टिकाको भोलि पल्टदेखि बोलाउने तयारी भएको छ उनले भने ।’

 

गत स्थानीय तहको निर्वाचनमा भन्दा यो पटकको निर्वाचनमा सुरक्षा टोलीको सङ्ख्या बढ्ने छ । मतदान केन्द्र पनि ४ वटा थप भएकाले यो सङ्ख्या बढ्न लागेको प्रहरी बताउँछ । 

 

गत स्थानीय तहमा केही मतदान केन्द्रमा मतदान समेत रोकिने गरी निर्वाचनमा शान्ति, सुरक्षा केही खलल पुगेको थियो । त्यसलाई मध्यनजर गरेर पनि यो पटक निर्वाचनमा कडाइ गर्ने रामेछाप प्रहरीको तयारी छ । 

 

एक प्रतिनिधि र दुई वटा प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र रहेको रामेछापमा ९६ वटा मतदान स्थल र २२६ मतदान केन्द्र निर्धारण गरेको छ । त्यस्तै यो पटक निर्वाचनमा मतदाता पनि थप भएका छन् ।

 

गत स्थानीय तहको निर्वाचनमा कूल लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेकोमा यो पटक कूल एक लाख ८३ हजार ३०९ जना मतदाताले भोट पुगेका छन् ।