प्रधानमन्त्री रोजगार कार्यक्रम : ३ वर्षमा ५६२ जनाले रोजगार पाए, संयोजक रेग्मी भन्छन्-‘सडक टालटुल बाहेकका स्वरोजगार बनाउने काम गर्न चहान्छौं’ (भिडिओसहित)

| कात्तिक २४, २०७९ बिहिबार

A A A
A A A

२४ कात्तिक, रामेछाप । प्रधानमन्त्री रोजगार कार्यक्रमका मन्थलीका संयोजक रक्षित रेग्मीले मन्थली नगरपालिकाभित्र सञ्चालित रोजगार कार्यक्रममा अधिकांश योजना सडक सम्बन्धी मात्रै आउने गरेको बताएका छन् । कार्यक्रमको प्रभावकारिता र महत्त्व दैनिक बढेको तर्फ संकेत गर्दै रोजगार संयोजक रेग्मीले आफूहरूले सुरुवात गरे देखिनै अधिकांश योजनाहरू सडक मर्मतसम्भर, ट्याक ओपनसँग सम्बन्धी मात्रै आउने गरेको जानकारी दिएका हुन् । 

 

कतिपय ठाउँमा भने प्रधानमन्त्री रोजगार कार्यक्रम देखावटी काम गरेर बजेट निकासा गर्ने बाटो मात्रै भएको आरोप पनि लाग्ने गरेको छ । सडक मर्मत, सोलिङ, टालटुल गर्ने, झार उखेल्ने, झाडु लाउने गरेर बजेट सक्ने काम गरेको भन्दै सो कार्यक्रमको एक समय ठुलो आलोचना पनि भएको थियो । त्यस प्रति इङ्गित गर्दै आफूहरूले त्यो विषयलाई चिर्न नयाँ र पृथक् काम गर्न चाहेको रेग्मी जोड् दिन्छन् ।

 

 

रामेछाप टाइम्ससंग बिहीबार कुराकानी गर्दै संयोजक रेग्मीले सुरुवात देखिनै यस कार्यक्रममा नागरिकहरूको सकारात्मक प्रतिक्रिया आएको तर, योजनाहरू भने १३ वटै वडाबाट सडकसँग सम्बन्धित मात्रै दोहोराए । ‘हामी केही पृथक् काम गर्न चाहान्छौं, १२ वटा क्षेत्र छन् । ती क्षेत्रमा काम गर्ने चहान्छौं । तर, अधिकांश योजना वडाहरूबाट सडकसँगका मात्रै आउँछन् । त्यसको लागि हामीले केही नयाँ गरौँ भनेर अभिमुखीकरण पनि गरेका छौँ । तर, यो पटक पनि त्यस्तै देखियो । यसको प्रभावकारितालाई जोड दिन हामी वडा स्तरमै शिविर पनि गर्दैछौं रेग्मीले भने ।’

 

१ नम्बर वडामा भने यस कार्यक्रममा वडाले सहभागिता नजनाएको उनको भनाई छ । 

 

संयोजक रेग्मीका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५५१ जना बेरोजगारहरूले काम पाउँ भन्दै सूचीकृतको फारम भरेका थिए । जसमा १६६ जनाले कम्तीमा १०० दिनको काम पाएका छन् । यसरी काम गर्दा एक लाख ७९ हजार ३ सय ५५ रुपैयाँ खर्च भएको उनी बताउँछन् । 

 

विपन्न वर्गलाई रोजगारी दिने उद्देशले सञ्चालित यो कार्यक्रममा ७७÷७८ मा ७७७ जनाले आवेदन दिएकोमा २०७ जनाले काम पाउँदा ९३ लाख ६१ हजार ८९५ रुपैयाँ खर्च भएको छ । 

 

त्यस्तै चालु आर्थिक वर्ष ०७८÷७९ मा काम पाउँ भन्दै ९४१ जनाले आवेदन दिएकोमा १७८ जनाले काम पाएका छन् । एक करोड १४ लाख ९ हजार रुपैयाँ खर्च भएको रेग्मीले जानकारी दिए । तत्कालीन समयको माग र आवश्यकतालाई ध्यान दिँदै सञ्चालित कार्यक्रम वृहत् रूपमा अगाडी बढ्न लागेको उनको भनाई छ ।

 

‘विभागले शैक्षिक बेरोजगारीलाई ध्यानमा राखेर काम अगाडी बढाउँदै छ । यसको महत्त्व दैनिक बढेको छ । स्थानीय तहहरूले अपनत्व लिन सके हामी राम्रो काम गर्न तयार छौँ उनले भने ।’ 

 

यसरी तीन आर्थिक वर्षमा सो कार्यक्रम अन्तर्गत मन्थली नगरपालिका भित्र ५६२ जनाले कम्तीमा १०० दिन रोजगारी पाएका छन् । 

 

यी काम भए हालसम्म हेर्नुहोस् ।