आठवटै स्थानीय तहमा सुविधा सम्पन्न कबर्ड हल बनाउन पहल गर्छु–सचिव घिसिङ (भिडिओसहित)

| कात्तिक २६, २०७९ शनिबार

A A A
A A A

२६ कात्तिक, रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले रामेछापका आठ स्थानीय तहका केन्द्रमा कबर्ड हल बनाउन पहल गर्ने बताएका छन् ।

 

उनले भने ‘जिल्लाका आठ वटा स्थानीय तहहरूलाई पाएक पर्ने गरी कम्तीमा एउटा कबर्ड हल बनाउनको लागि म, मेरो ठाउँबाट सक्दो सहयोग गर्न तयार छु । यहाँका खेल प्रेमी साथीहरूले चासो देखाउनु पर्‍यो ।’

 

 

पत्रकार हिमाल ढुङ्गेलसँग गृह जिल्ला रामेछापमा रेडियो अन्तर्वार्तामा कुराकानी गर्दै सदस्य सचिव घिसिङले खेलकुद क्षेत्रको लागि आफूले मात्रै नभएर सिङ्गो रामेछापले मौका पाएको उल्लेख गरे । 

 

पछिल्लो राष्ट्रिय खेलकुद सफल पार्ने सिङ्गो देशवासीले सहयोग गरेकोमा धन्यवाद दिँदै घिसिङले जिल्लाको खेलकूद् क्षेत्रको विकासको लागि यहाँका खेलकूद् क्षेत्र प्रेमीहरूसँग सहकार्य गर्ने बचन दिए । 

 

‘आठ वटा स्थानीय तहका केन्द्र पर्ने ठाउँमा एउटा कबर्ड हल, खेलकुद गतिविधिलाई चलायमान बनाउने काम गर्न सक्दो पहल गर्छु घिसिङले भने ।’

 

 

सदस्य सचिव घिसिङले आउँदो दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू श्रङ्खलाबद्ध तरिकाले अगाडि बढ्न लागेको जानकारी दिए । 

 

साथै कोरोना महामारी लगायतका महाकारीले स्तब्ध बनेको खेल क्षेत्र चलायमान अवस्थामा आइपुगेको उल्लेख गर्दै यसलाई थप अगाडि लाने योजना सुनाए ।

 

‘पुरानो लयमा मात्रै फर्किए हुँदैन, यसलाई थप अगाडि लानू पर्नेछ नत्र सोचेको जस्तो परिणाम लिन सकिँदैन ।’