जिल्ला आयुर्वेद रामेछापः बागमती प्रदेशकै दोस्रो उत्कृष्ठ बन्यो, खुल्ला योग र सबै स्थानीय तहमा सेवा विस्तार गर्दै

| कात्तिक २८, २०७९ सोमबार

A A A
A A A

२८ कात्तिक, रामेछाप । जिल्ला आयुर्वेद कार्यालय रामेछापले एक आर्थिक वर्षमा साँढे १६ हजार भन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली र चिसापानी आरोग्य सेवा केन्द्रबाट गरी गत आर्थिक वर्ष २०७७÷७८ मा सो सङ्ख्यामा सेवा प्रदान गर्दै बागमती प्रदेशकै दोस्रो उत्कृष्ठ स्वास्थ्य केन्द्र घोषित भएको हो । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १ बाट सेवा प्रदान गर्दै आएको आयुर्वेद कार्यालयले विभिन्न रोगलाई आयुर्वेद विधिबाट उपचार गर्दै आएको छ ।

 

मन्थली र रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका सहितका स्थानीय तहबाट समेत सेवा विस्तार गर्दै नागरिक मैत्री र दिगो सेवा दिँदै आएको यस केन्द्रको कार्यालयले सेवा गरे बापत केही रकम समेत आर्जन गरेको सोमबार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा.नदन कँडेलले जानकारी गराए । जसमा आर्थिक वर्ष २०७८÷७९ मा २ लाख २ हजार ४ सय ६५ रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए ।

सहभागीहरु  ।

२ रोपनी जग्गामा निर्माण भएको यस केन्द्रको भवन अभाव, आर्थिक अभाव, कर्मचारी अभाव, स्थानीय सरकारको साझेदारी न्यून, सेवा प्रवाहमा कठिनाइ लगाएका समस्याका बाबजुद पनि आगामी दिनमा यस्ता समस्यालाई हल गर्दै आफूहरू अगाडि बढिरहेको डाक्टर कँडेलले बताए । 

 

 

त्यस्तै विभिन्न निकायसँगको सहकार्य र समन्वयमा तालिम, योग, शिविर र अन्तरक्रिया जस्ता कार्यक्रम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा यसको कार्यक्षेत्र विस्तार र व्यवस्थित गर्न सबैको सहयोग आवश्यक रहेकोमा ध्यानाकर्षण गरे । 

बागमती प्रदेशबाट उत्कृष्ठ दोस्रो भएको प्रमाणपत्र ।

डा. कँडेलले आयुर्वेदको महत्त्वका बारेमा जानकारी गराउँदै कार्यालयले हाल सम्म गर्दै आएका विभिन्न गतिविधिका जानकारी गराए । 

 

उनले भने ‘अहिले हाम्रो खानपान र आहार–बिहारका कारण धेरै मानिसहरू रोगी हुने क्रम बढ्दै गइरहेको छ । अहिले विश्वमा ३० प्रतिशत मानिसमा विभिन्न खालका रोग छन् । अबको दश वर्षमा नेपालका पनि अधिकांश नेपालीहरूमा कुनै न, कुनै रोगले ग्रसित हुने छन् । 

 

त्यसैले रोग लाग्न दिनु भन्दा अगाडि नै यसबाट बच्ने उपचारहरू, सर्कताहरु अपनाउनु अति उत्तम हुन्छ । हामी अब त्यता मोडिँदै छौँ । त्यसका लागि योगा अभ्यास, पञ्चकर्म लगायतका विधिलाई अगाडि सारेका छौँ ।’

केन्द्रले प्रदान गर्दै आएका कार्यक्रम एवं सेवाहरु । 

हाल प्रदेश सरकारको मातहतबाट सञ्चालित यस केन्द्रले सुविधा सम्पन्न आफ्नै भवन बनाउने प्रक्रिया अगाडि बढ्दै गरेको डाक्टर कँडेलले जानकारी दिए ।

 

‘त्यसको लागि डीपीआर तयार भैसकेको छ । हामी काम गर्दैछौं । जग्गाको विषयमा केही बाधाहरू छन् । ती सबै पूरा भए भवन बन्ने लगबग निश्चित छ । यसमा यहाँका राजनीति दल, स्थानीय सरकार, पत्रकार हामी सबैको भूमिका हुन्छ उनले भने ।’

 

 

भवन निर्माणको लागि बजेट समेत व्यवस्थापन भैसकेको डाक्टर कँडेलले जानकारी गराए । 

त्यस्तै आगामी दिनमा खुल्ला योग सेन्टर र प्रवचन केन्द्र सञ्चालनमा ल्याउन लागेको आयुर्वेद केन्द्रका जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले बताए । 

 

आगामी दिनमा भवन निर्माणसँगै आयुर्वेद केन्द्रलाई जिल्लाका आठ वटै स्थानीय तहमा विस्तार, समन्वय र सहकार्य गर्न लागेको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले आयुर्वेद क्षेत्रलाई विस्तार गर्ने स्पष्ट पारे । 

 

आगामी योजनाहरु । 

विगतका दिनमा विभिन्न निर्णय र बाधाहरूले सोचे अनुसारको काम गर्ने नसकेको स्वीकार गर्दै सामाजिक सेवामा पनि बिचार मिल्ने र नमिल्ने समूहको द्वन्द्व कारण पनि विकासमा अवरोध पुगेको उनको तर्क छ ।

 

उनले राजनीतिक आस्था र बिचार नमिल्दाको अवस्थामा स्थानीय सरकारहरूले समेत यसको विस्तारमा अवरोध पुर्‍याएको उनको भनाई छ । 

 

मन्थली नगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष समेत रहेका श्रेष्ठले भने ‘केही स्थानीय तहले बिचार नमिलेको भन्दै यसै कार्यक्रमको लागि छुटाएको बजेट समेत अर्कै शीर्षकमा खर्च गरेका छन् । उदाहरणको लागि दोरम्बा शैलुङ् गाउँपालिका अरू धेरै छन् अहिले यति मात्रै । यसरी बिचार नमिल्दा पनि काममा बाध हुने रहेछ । त्यो भएको छ ।’

 

त्यस्तै अध्यक्ष श्रेष्ठले आयुर्वेद केन्द्रको विकासको लागि सकारात्मक समाचार र सूचना प्रकाशन प्रसारण गरेर सहयोग गर्न आग्रह समेत गरे । 

 

 

त्यसको लागि जिल्लाको सिङ्गो पत्रकारिता जगत् सकरात्कम रहेको भन्दै उत्कृष्ठ भएकोमा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बधाई दिए । उनले आयुर्वेदिक उपचारलाई प्रचारप्रसार गरेर सबै नागरिकको पहुँचमा पुर्‍याउनु पर्नेमा जोड दिए ।