२१ जनाले गरे रक्तदान, १० जना ‘स्ट्यान्बाइ’

| मंसिर १९, २०७९ सोमबार

A A A
A A A

१९ मंसिर, रामेछाप । रामेछापको मन्थलीका अस्पतालहरूमा रगत अभाव भएपछि युवाहरूको सक्रियतामा त्यसको परिपूर्ति गरिएको छ । केही दिन अगाडि यहाँका सरकारी तथा निजी अस्पतालहरुमा रगत अभावन भएको गुनासो आएको थियो । 

 

 

रामेछाप सहयोगी मन (रासम) मा आबद्ध युवाहरू सहित विभिन्न सङ्घसंस्थामा आबद्ध सक्रिय युवाहरूले यहाँका अस्पतालमा रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी रेडक्रस रामेछापसँगको सहकार्यमा रक्तदान गरेका हुन् । 

मन्थली देवकोटा चोकमा गत शनिवार गरिएको रक्तदानमा २१ जनाले रगत दिएको रासम सदस्य जय मानन्धरले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘अरू धेरै साथीहरू रगत दिन तयार हुनुहुन्थ्यो । तर, यहाँ अहिलेको लागि रगत सङ्कलन केन्द्रमा यती मात्रै राख्न मिल्ने हुँदा त्यति रगत सङ्कलन गरेका हौँ मानन्धरले भने।’

 

 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा रगत २५ दिन मात्र राख्न सक्ने व्यवस्था छ । यहाँ खपत नभएको रगत सिन्धुली लगायतका बाहिरी जिल्लामा समेत पठाइने गरिएको छ । 

 

 

त्यसैले एक महिनालाई पुग्ने रगत २१ जनाबाट सङ्कलन भएको र अरू १० जना आवश्यक परेको बेला दिने गरी ‘स्ट्यान्बाइ’ (तयारी) रहेको जनाइएको छ। 

 

 

रासम लगायत विभिन्न संस्थागत, नेपाल जेसिज रामेछाप, पार्टीका भातृ संस्थाहरूले पनि यहाँ बेला बेलामा समूहीक रक्तदान गर्दै आएका छन् ।