रामेछापमा ५६ वडाका ४६९०० जनाले गरे स्वास्थ्य बिमा, सुनापतिमा शतप्रतिशतको बिमा

| मंसिर १९, २०७९ सोमबार

A A A
A A A

१९ मंसिर, रामेछाप । ६४ वटा वडा रहेको रामेछापमा ५६ वडाका नागरिकहरू स्वास्थ्य बिमा कार्यक्रममा जोडिएका छन् । सोमबार सम्म जिल्लाका आठ स्थानीय तहका ४६ हजार ९ सय जना आम नागरिकहरू स्वास्थ्य बिमा बोर्ड रामेछापसँग जोडिएको बोर्डका दर्ता अधिकारी नारायण प्रसाद पाण्डेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

जसमा २४ हजार ७ सय ४० महिला र २२ हजार १५८ पुरुष रहेका छन् । भने १६ हजार ४४९ बिमित इकाई रहेको छ। 

 

उनका अनुसार जिल्लाका सबै भन्दा धेरै सुनापति गाउँपालिकाका नागरिकहरूले बिमा गरेका छन् । उनले भने ‘त्यहाँका लगबग शतप्रतिशत नागरिकहरूले बिमा गरेका छन् । यसमा गाउँपालिकाले सहयोग गर्‍यो । छिट्फूट् बाहेक अब बाँकी छैनन् ।’ 

 

सुनापतिमा ९ हजार ६६० जनाले बिमा गरेको तथ्याङ्क बोर्डसँग छ । घरधुरी सर्वेक्षण २०७५ अनुसार त्यहाँ पालिकाको जनसङ्ख्या २७ हजार ९० जना रहेको तथ्याङ्क छ । 

 

जसमा महिलाको जनसङ्ख्या मात्रै १३ हजार ६८९ र पुरुषको जनसङ्ख्या १३ हजार ४०३ रहेको छ । तर, बसाइसराई, रोजगारी लगायतका विविध कारणले जनसख्यमा घटेकाले शतप्रतिशत बिमाको पहुँचमा आएको बोर्डको दाबी छ । 

त्यस्तै १४ वटा वडा रहेको मन्थली नगरपालिकामा सोमबार सम्म १४ हजार ६१३ जनाले बिमा गरेका छन् । यो नगरपालिकाको जनसङ्ख्याको ५० प्रतिशत बढी रहेको बोर्ड जनाउँछ ।

 

 

त्यस्तै ५ हजार ९९९ जनाले रामेछाप नगरपालिकामा बिमा गर्दा लिखु तामाकोशी गाउँपालिकामा ३ हजार २५६, गोकुलगंगा गाउँपालिकामा ३ हजार ३ जना, दोरम्बा शैलुङ् गाउँपालिकामा ३ हजार ७७४, खाँडादेवी गाउँपालिकामा ४ हजार २१० जनाले स्वास्थ्य बिमा गरेका छन् । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट टाढाको दूरीमा रहेको उमाकुण्ड गाउँपालिकामा सबै भन्दा कम २ हजार ३९१ जनाले बिमा गरेका छन् । 

 

 

२०७४ सालबाट लागू भएको स्वास्थ्य बिमा कार्यक्रम सुरु–सुरुमा नागरिकलाई बुझाउन निकै गाह्रो परेको सुनाउँदै पछिल्लो समय भने जनताले बुझ्न थालेकाले सहज हुँदै गएको बोर्डका जिल्ला संयोजक यज्ञराज ढुङ्गेलले बताए । 

 

 

हाल ५६ वडाहरूमा स्वयंसेवीका मार्फत बिमा गर्न सकिने छ । बाँकी रहेका ८ वडामा पनि स्थानीय तहहरूले सिफारिस गरेपछि कार्यक्रम लागू गर्न सकिने ढुङ्गेलले जानकारी दिए । 

 

 

हाल स्वयंसेवीका नरहेका वडा खाँडादेवी गाउँपालिकाको वडा नं ८ र ९, दोरम्बा शैलुङ् गाउँपालिकाको १, २, ४ र उमाकुण्ड गाउँपालिकाको ४ र ६ रहेका छन् । 

 

 

५ जना सम्मको परिवारलाई २५ सय रुपैयाँको बिमाले वार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति अनुसार कार्यक्रम लागू भइरहेको छ । ५ जना भन्दा माथि प्रत्येक एक जनाबापत ६ सय रुपैयाँले जोडिँदै जाने छ। 

 

यसमा ११ सय ६८ वडा औषधि, उपचार सेवा नागरिकले निःशुल्क पाउने छन् । 

 

सुनापतिमा कसरी सम्भव भयो शतप्रतिशत बिमा ?

यस गाउँपालिकाले गत आर्थिक वर्षमा यहाँका नागरिकहरू सबैलाई बिमासँग जोड्ने नीति अगाडि सार्दै बजेटको समेत व्यवस्था गरेर पालिका आफैले ५० प्रतिशत रकम अनुदानको रूपमा भुक्तानी गरेपछि यहाँका नागरिकहरू बिमाको पहुँचमा जोडिएको पालिको जनस्वास्थ्य निरीक्षक चिनीमाया बलले रामेछाप टाइम्सलाई बताइन् । 

 

स्वास्थ्य सेवालाई पालिकाले प्राथमिकता दिएर ५० प्रतिशत अनुदान बिमालाई भुक्तानी पालिकाले गरेपछि नागरिकहरू बिमाको पहुँचमा जोडिएको उनको भनाई छ ।