किवी नबिकेपछि रामेछापका किसान चिन्तित, ज्ञान केन्द्र भन्छ ‘नबिकेको हैन भाउ नपाएका हुन्’

| मंसिर १९, २०७९ सोमबार

A A A
A A A

१९ मंसिर, रामेछाप । किवी फल बिक्री नभएपछि रामेछापका किसान चिन्तित भएका छन् ।  विशेष गरी जिल्लाको दोरम्बा शैलुङ्, सुनापति, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा यो फल रोपिएको छ । खाँडादेवी गाउँपालिकाका विभिन्न स्थानमा पनि किवी रोपिएको छ । 

 

केही वर्ष अगाडि थोरै बारीबाटै लाखौँको आम्दानी गर्न सकिने चर्चा परिचर्चा कमाएको, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र सङ्घीय सरकार समेतको पहल एवं साझेदारीमा यो खेती गर्न सुरु गरेका किसान अहिले फल बिक्री नभएरै हैरानी खेप्न बाध्य भएका हुन् । 

गुम्देलमा दोर्जी शेर्पाले फलाएको किबी, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स।

 

रोपेको तीन वर्षदेखि उत्पादन दिने यो फल केही वर्ष पहिले नेपाली बजारमा सबैको लागि नयाँ थियो । तर, अहिले बजारमा छ्याप–छ्याप्ती पाउन थालेपछि भने बजार पाउनै नसकेको किसानहरूको गुनासो छ । 

 

 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका देण्डी शेर्पा (दोर्जीबाबु) ले अहिले आधा रोपनी जग्गामा लगाएको किवी नबिकेरै चिन्तित बनेका छन् । उनी भन्छन् ‘५ वर्ष अगाडि ५० बोट बिरुवा काठमाडौँबाट ल्याएर ३० बोट रोपे, २० बोट अरूलाई दिए । गत साल थोरै मात्र उत्पादन भएको थियो । राम्रै भयो । यो पटक राम्रो उत्पादन भएको छ । तर, बजार छैन । ठूला–ठूला दान खोज्ने रहेछन् । वाइन बनाउन उद्योग छैन । गेडा बच्ने बजार छैन । पहिले ३५० रुपैयाँ सम्म बिकेको किवी अहिले १०० रुपैयाँमा समेत लाने मान्छे छैनन् । ग्राहक छैन । भाउ छैन ।’ 

देण्डी शेर्पा (दोर्जी) किसान गुम्दले, तस्बिर मिलन घिमिरे / रामेछाप टाइम्स

 

उत्पादन अनुसार बजार पाउने हो भने नेपालमै एक रोपनी जग्गाबाटै लाखौँको आम्दानी गर्न सकिन्छ । तर, बजार छैन । 

 

भाउ र बजार दुवै नपाएपछि शेर्पा किवी टिपेर थुपार्नुको विकल्प नरहेको गुनासो गर्छन् । उनीसँग अन्दाजी ४ टन किवी उत्पादन भएको छ । 

 

उमाकुण्डको माथिल्लो भेगमा धेरै किसानले यो फलको खेती व्यवसायी रूपमै सुरु गरिएको छ । उत्पादन पनि राम्रो रहेको अधिकांश किसानहरू बताउँछन् । तर, बजार नपाएको उनीहरूको गुनासो छ । 

 

 

गोकुलगंगा गाउँपालिकामा पनि यो फल धेरै किसानले रोपेका छन् । काठमाडौँबाट दैनिक सडकको पहुँचमा रहेको यो पालिकाको किवी भने धेरै जसो सिधै काठमाडौँ लगाएतका बजारमा पुगेको छ। तर, भाउ भने राम्रो नपाएको गुनासो छ । 

 

 

सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाका किसान पनि फल राम्रो फलेको तर, बजार र भाउ पाउनै नसकेको गुनासो गर्छन् । 

 

सदरमुकाम मन्थली स्थित फलफूल, तरकारी पसल गर्दै आएका एक व्यापारी पनि किवी फल अन्य फलफूल जस्तो सजिलै बिक्री नभएको सुनाउँछिन् । उनले भनिन् दोम्बाबाट ३० केजी ल्याएको बिक्री नभएर यतीकै छ । दिनमा २–४ केजी पनि राम्रो जाँदैन । अरू फल सजिलै बिक्री हुन्छ । तर, किवी जो पायो त्यहीले लाद्दैनन् । लानेले पनि ठुला दान खोज्ने गरेको पाइयो । गत वर्षमा ४ सय सम्म बिक्री हुने किवी यो पटक १०० रुपैयाँमा पनि लाँदैनन् । 

 

 

१२ सय मिटर भन्दा माथिको उचाइमा यो फल फल्ने गर्छ । 

 

 

यता कृषि ज्ञान केन्द्र रामेछापकी सूचना अधिकारी शर्मिला फुयाँल भने किसानले बजार नपाएको भन्दा पनि भाउ नपाएको तर्क गर्छिन् । उनले भनिन् ‘उत्पादन राम्रो भएको छ । बजारै नपाएको भन्दा पनि भाउ सोचे अनुसारको नपाएका हुन् । बजारमा खरिद बिक्री भएको चैँ छ ।’

शर्मिला फुयाँल, कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी ।

 

जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा कूल २०१ क्षेत्रफलमा किवी खेती गरिँदै आएको ज्ञान केन्द्र रामेछापको तथ्याङ्कले देखाउँछ ।  

 

त्यस्तै चालु आर्थिक वर्षमा भने यो सङ्ख्यामा केही वृद्धि हुँदै २०४ पुग्ने अनुमान गरिएको छ ।