रामेछापको सडक सञ्जाललाई पूर्ण व्यवस्थित गर्न सांसद चौलागाइले यातायात समितिसँग गरे छलफल, नयाँ ‘बस रुट’ थप गर्ने

| मंसिर २३, २०७९ शुक्रबार

A A A
A A A

२३ मंसिर, रामेछाप । रामेछापबाट बागमती प्रदेश सभा सदस्य (सांसद) मा निर्वाचित भएका युवराज चौलागाइले जिल्लाको सडक, यातायात बिजुली जस्ता पूर्वाधार विकासमा प्राथमिकता दिन थालेका छन् । निर्वाचित भएपछि उनले केही दिन यता सम्बन्धित निकायसँग भेटघाट र छलफल बढाउँदै जिल्लामा यस्ता समस्याहरू समाधान गर्न चासो दिन थालेका हुन् । 

 


शुक्रवार सोही क्रममा मन्थली नगरपालिका वडा नं २ टेकानपुर, कठजोर लगायत स्थानको ‘बस रुट’हरू नयाँ थप गर्न अरनिको यातायात समितिसँग छलफल गरेका छन् । 

 


सांसद चौलागाइका अनुसार शुक्रवार यातायातका अध्यक्ष केदार क्षेत्री लगायत पदाधिकारीहरू भेटेर छलफल गरी सडक विस्तार गर्न आग्रह गरेका हुन् । साथै उनले जिल्लामा यातायात सञ्जाललाई पूर्ण व्यवस्थित गर्न सबैसँग मिलेर अगाडि बढ्ने र यसमा अरनिको समितिले पनि सहमति जनाएको छ । उनले भनेका छन् ‘मिलेर अघि बढ्न हामी सहमत भएका छौँ ।’

 


केही दिन अगाडि विद्युत् प्राधिकरण रामेछापका प्रमुखलाई भेटेर विद्युत् सम्बन्धि समस्या हल गर्न निर्देशन दिएका सांसद चौलागाइले काठमाडौँ गयलगतै साँघुटार सडक निर्माणको कामलाई छिटो कालोपत्रे सहित गुणस्तरीय काम गर्न आग्रह गरेका थिए ।

 


त्यस्तै बिहीबार सांसद चौलागाइले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपाललाई भेटेका थिए ।