सञ्चार रजिष्ट्रारको ३ दिने रेडियो प्राविधिक तालिम रामेछापमा सुरु

| मंसिर २६, २०७९ सोमबार

तालिममा सहभागिहरु ।
A A A
A A A

२६ मंसिर, रामेछाप । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजनामा तीन दिने रेडियो प्राविधिक तालिम मन्थलीमा सुरु भएको छ । 

 

बागमती प्रदेश भित्रका जिल्लाहरुमा सञ्चालित रेडियोहरूलाई टेवा पुर्‍याउने उद्देश्यले सञ्चालित प्राविधिक तालिममा ६ जिल्लाका रेडियो प्राविधिकहरू सहभागिता भएको आयोजकले जनाएको छ ।

 

 

तालिम उद्घाटन गर्दै मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठ, युवराज श्रेष्ठ पत्रकार,रेवती सापकोटा । 

 

सञ्चार रजिष्ट्रारले सूचना आह्वान गरी तालिम लिने रेडियोहरूको छनोट गरेको थियो । यसरी छनोट भएका रेडियो प्राविधिकहरूलाई पहिलो चरणको तालिम दिन लागेको तालिम उद्घाटनमा बोल्दै सञ्चार रजिष्ट्रारका प्रमुख रेवती प्रसाद सापकोटाले बताए ।

 

उनका अनुसार सञ्चार रजिष्ट्रारले यसअगाडि रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालित अनलाइन, रेडियो, टेलिभिजन जस्ता सञ्चार माध्यमलाई केन्द्रमा राखेर तालिमहरू दिँदै आएको छ । यसरी लिएका तालिमहरूको व्यवाहारिक प्रयोग बढाउनु पर्नेमा जोड् दिँदै सही सदुपयोग गर्न उनले आग्रह गरे । 

 

त्यस्तै कार्यक्रम उद्घाटन गर्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले आफ्नो नगरभित्र प्रदेश स्तरीय तालिम सञ्चालन गरेर रजिष्ट्रारले नगरको उचाइ बढाउन सहयोग गरेको बताए । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि सञ्चार माध्यमलाई प्राथमिकता दिँदै आएको उल्लेख गरेका मेयर श्रेष्ठले पत्रकारिताको नीति र विधि भित्र रहेर काम गर्न आग्रह गरे । 

 

 

आयोजकका अनुसार तालिममा रामेछाप सहित दोलखा,सिन्धुली,सिन्धुपाल्चोक,काभ्रे र काठमाडौँ विभिन्न रेडियोहरूमा काम गर्ने रेडियो प्राविधिकहरू सहभागी छन् ।