‘अन्तरपालिका स्तरीय विज्ञान प्रदर्शनी’ मा केब्स प्रथम, शिद्देश्वर बाम्ती र कालिका मावि लखनपुर दोस्रो

| मंसिर २८, २०७९ बुधबार

A A A
A A A

२८ मंसिर, रामेछाप । जिल्ला स्तरीय ‘अन्तरपालिका विज्ञान प्रदर्शनी’ प्रतियोगितामा कर्कला देवी इङ्लिस बोर्डिङ स्कुल (केब्स) प्रथम भएको छ । शिद्देश्वर बाम्ती र कालिका मावि लखनपुर दोस्रो भएका छन् । 

 

 

मङ्गलवार सदरमुकाम मन्थलीमा सम्पन्न अन्तरपालिका स्तरीय प्रदर्शनीमा सुनापति गाउँपालिका बाहेक ८ वटा विद्यालयले सहभागिता जनाएका थिए । जसमा मन्थली नगरपालिका वडा नं ४ सालुको सेती देवी मावि अप्रतियोगीको रूपमा सहभागी भएको थियो ।  

प्रथम भएको (केब्स) ले नगद ५ हजार सहित प्रमाणपत्र पाएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी बालकृष्ण ढुङ्गेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

प्रतियोगितामा दुई पालिकाका विद्यालय दोस्रो भएका छन् । जसमा उमाकुण्ड गाउँपालिकाको वडा नं २ स्थित शिद्देश्वर मावि र कालिका मावि लखनपुर, दोरम्बा शैलुङ् गाउँपालिका हुन् । उनीहरूले क्रमशः नगद ३–३ हजारको साथमा प्रमाणपत्र पाएका छन् । 

 

त्यस्तै प्रर्दशनिमा विष्णु जनज्योति मावि आँगेटार खाँडादेवी तेस्रो र गौरीशङ्कर मावि रामेछाप सान्त्वना भएका छन् । उनीहरूले क्रमशः नगद २ हजार, १ हजार र प्रमाणपत्र पाएका छन् ।  

 

 

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजना तथा शिक्षा विकास समन्वय इकाई रामेछापको समन्वयमा विद्यार्थीहरूको विज्ञान विषयको शिक्षालाई व्यवहारिक तुल्याउन उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सूचना अधिकारी ढुङ्गेलले बताए । 

सो कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापाले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा व्यवहारिक ज्ञानमा वृद्धि हुने र एक अर्कामा सिकेको सिप, ज्ञानलाई आदान-प्रदान गर्न वातावरण मिल्ने बताए । उनले यस्ता प्रर्दशनी मेलाहरुको आयोजना बेला-बखत गर्न आग्रह समेत गरे । 

 

जिल्लाका ७ वटा स्कुलहरूलाई पछि पारेर प्रथम भएको नीजि क्षेत्रको विद्यालय (केब्स) बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि समेत छनोट भएको विद्यालयका प्रधानाध्यापक अनमोल तिम्ल्सिनाले जानकारी दिए । उनले भने ‘अब प्रदेश स्तरीय प्रतियोगितामा समेत उत्कृष्ट स्थान हासिल गरेर आउनेछौँ, भन्ने कुरामा हामी आशावादी छौँ ।’