बितेको ५ महिनामा जिल्ला ट्राफिक प्रहरीले उठायो ३८ सय सवारी कारबाहीबाट ३४ लाख ६६ हजार, यात्रुको हितमा यस्ता काम गर्दै ?

| मंसिर २८, २०७९ बुधबार

A A A
A A A

२८ मंसिर, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ५ महिनामा ३४ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । पछिल्लो समय यहाँ ट्राफिक प्रहरीले चेक-जाँचमा कडाइ गर्दै यात्रुको सुरक्षित यात्राको लागि जोड् दिन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

 

 

चालु आर्थिक वर्षको साउन १ गते देखि मंसिर २८ गते सम्म जिल्लाभरिमा भएका ३ हजार ८ सय सवारी कारबाहिरमा पर्दा सो रकम जरिवाना स्वरूप उठेको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्र कुमार (फाँजू) श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार यात्रुको सेवालाई मध्यनजर गरेर ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट सो जरिवाना रकम असुलिएको हो । ट्राफिक प्रमुख श्रेष्ठका अनुसार ६ सय ३१ ट्रकलाई कारबाही गर्दा ६ लाख ३ हजार ५ सय, ४४६ वटा बस कारबाही गर्दा ४ लाख २१ हजार जरिवाना सङ्कलन भएको हो । 

 

 

त्यस्तै कार, जिप–भ्यान ५८३ वटा कारबाहीमा पर्दा ५ लाख ७० हजार ५ सय, ट्याक्टर २५४ वटा कारबाही गर्दा २ लाख ५५ हजार जरिवाना उठेको उनले बताए । 

सबै भन्दा बढी कारबाहीमा परेका दुई पाङ्ग्रे सवारी मोटरसाइकल १८ सय ५१ वटा कारबाहीमा पर्दा १५ लाख ८६ हजार र अन्य सवारीहरू ट्याम्पो लगायत ३४ वटा कारबाही गर्दा ३० हजार जरिवाना उठेको प्रमुख श्रेष्ठले बताए । 

 

 

ट्राफिक नियमलाई उल्लङ्घन गरेर यात्रु बोक्ने, सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, बढी यात्रु बोक्ने, हेलमेट नलगाउने, लाइसेन्स बिना सवारी चलाउने जस्तालाई कारबाही गरिएको प्रहरी वरिष्ठ नायव निरीक्षक श्रेष्ठ सुनाउँछन् । 

 

रामेछाप जिल्ला भौगोलिक रूपमा यात्रुको लागि जोखिम पूर्ण अवस्थामा रहेको स्मरण गर्दै कच्ची सडकको यात्रा झनै जोखिम पूर्ण हुने र त्यसको लागि पनि आफूहरू थप सक्रिय र सुरक्षित बनाउन कठोर बन्नु पर्ने अवस्था समेत सिर्जना भएको श्रेष्ठले स्पष्ट पारे । 

दशै, तिहार जस्ता मुख्य चाडपर्वमा यात्रुको सहयताको लागि मन्थलीको देवकोटा चोकमा यात्रु सहायता कक्ष स्थापना जस्ता नमुना काम गरेको स्मरण गर्दै  ट्राफिक प्रहरी प्रमुख, श्रेष्ठले चालु आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत सुरु गरेको जानकारी दिए ।

 

जसमा हाल सम्म ५ पटक शिविर सञ्चालन गरिएको उल्लेख गर्दै १९० जना चालकहरूको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको जानकारी दिए । रामेछाप सामुदायिक अस्पतालसँगको सहकार्य र समन्वयमा चालक सहित आम मानिसको पनि सुगर, प्रेसर जस्ता स्वास्थ्य परीक्षण अब प्रत्येक हप्ताको शनिवार देवकोटा चोकमा गरिने उनले जानकारी दिए । 

त्यस्तै जिल्लाका विभिन्न विद्यालयमा पुगेर ‘ट्राफिक नियम सम्बन्धि’ कक्षा सञ्चालन ५ पटक गरेको र त्यसबाट ७ सय भन्दा बढी विद्यार्थी लाभान्वित भएका जानकारी दिए । जिल्ला सदरमुकाम मन्थली बजारमा रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने कार्य अन्तरगत ‘एकतर्फी’,बनाएको उनले स्मरण गरे । 

 

 

त्यस्तै यात्रु मैत्री कार्यक्रम ११ पटक, ‘दुर्घटना न्यूनीकरण सवारीमा स्टिकर टाँस’ २ पटक, यातायात व्यवसायीहरुसंग सवारी दुर्घटना न्यूनीकरण र भाडा निर्धारण गर्न ३ पटक, ‘पर्चा पम्पेल्ट’ वितरण ४ पटक, सवारीको यान्त्रिक चेक-जाँच ५ पटक गरिएको जसमा १५० वटा सवारी साधनको चेक-जाँच भएको उनले बताए ।