‘रामेछापमा उत्पादित जुनारको जुस र बिस्कुटलाई क्वालिटी सहित ब्राण्डिङ् गरौँ’

| मंसिर २८, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२८ मंसिर, रामेछाप । घरेलु तथा साना उद्योग कार्यालय रामेछापले स्थानीय तहहरूसँग कार्यक्रम ‘डुब्लुकेसन’ नपरोस् भनी छलफल गरेको छ । छलफलमा जिल्ला सदरमुकाम मन्थलीमा उत्पादन हुँदै आएको जुनारको ‘जुस’ र ‘बिस्कुट’लाई क्वालिटी सहित ब्राण्डिङ् गर्न आवाज उठेको छ ।

 

 

घरेलुको कार्यालयमा बुधवार जिल्लाका ६ वटा स्थानीय तहका विभागीय प्रमुखहरू, निजी क्षेत्र, घरेलु तथा साना उद्योगीहरू र सञ्चारकर्मीको उपस्थितिमा सो कार्यालयले प्रदान गर्ने आगामी कार्यक्रम र स्थानीय तहहरूले गर्ने कार्यक्रम एउटै प्रकारको नपरोस् भनी सुझाव सङ्कलन गरेको कार्यालय प्रमुख सुबोधकुमार शाहले बताए । 

रामेछापमा उत्पादित बिस्कुट, मन्थलीको एक पसलमा बिक्रीको लागि । 

 

जिल्लाका आठ स्थानीय तह मध्य मन्थली र रामेछाप नगरपालिकाका जनशक्ति व्यवस्थापन तथा शाखा प्रमुखहरू सहित खाँडादेवी, सुनापति, गोकुलगंगा, लिखु तामाकोशी गाउँपालिकाका उद्मविकास सहजकर्ता एवं शाखा प्रमुख उपस्थित थिए । तर, उमाकुण्ड र दोरम्बा शैलुङ् गाउँपालिकाका आएनन् ।

 

निजी क्षेत्रबाट रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, सिलाइ कटाइ व्यवसायी संघका अध्यक्ष गोपाल नेपाली लगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा विगतका वर्षाहरूमा घरेलु कार्यालय र स्थानीय तहले गरेका कतिपय कार्यक्रम जुधेकाले आगामी दिनमा त्यस्तो नहोस् भनी छलफल गरिएको घरेलु कार्यालयका सूचना अधिकारी नीरज खड्काले बताए । 

 

 

छलफलमा बोल्दै स्थानीय तहका शाखा प्रमुखहरूले पालिकाले घरेलु तथा साना उद्योगको विकास र स्तर उन्नतिको लागि तय गरेका कार्यक्रम बारे जानकारी गराए । 

 

 

स्थानीय तहहरूले आफ्नो पालिकाका विभिन्न वडामा, वडागत रूपमा त्यहाँको आवश्यकताको आधारमा तालिम सञ्चालन, प्रविधि हस्तान्तरण, अनुदान, कच्चा पदार्थ सङ्कलन, लक्षित वर्ग कार्यक्रमहरू निर्धारण गरेको बताए । उनीहरूले सो भन्दा फरक योजना अनुसारको काम गर्न कार्यालयलाई आग्रह गरे । 

 

छलफलमा बोल्दै अधिकांश शाखा प्रमुखहरूले विगतमा दिँदै आएको अनुदान, यन्त्र उपकरण हस्तान्तरण, तालिम सञ्चालन÷प्रदान जस्ता काम धेरै भएको तर, उपलब्धि मूलक हुन नसकेकोमा पनि कार्यालयको ध्यानाकर्षण गराएका थिए । 

 

अब सञ्चालन हुने कार्यक्रम, तालिम उपलब्धि मूलक बनाउन निश्चित व्यक्ति, समूहलाई दिनु पर्ने र त्यसले रोजगारी र उत्पादनमा टेवा पुर्‍याउनु पर्नेमा जोड् दिए । 

जुनारको जुस बिक्रीको लागि मन्थलीको एक पसलमा राखिएको ।

 

जिल्लाका अधिकांश स्थानीय तहमा किवी, सुन्तला, जुनार, अलैँची, चिया, आलु, दूध, लोकल कुखुरा जस्ता उत्पादन हुन थालेको तर, उत्पादन अनुसारको बजार र भाउ पाउन नसकेको उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष घिमिरेले सुनाए । यस्ता उत्पादनलाई मध्यनजर गरेर पायक पर्ने ठाउँमा जुस उद्योग सञ्चालन, खरिद÷बिक्री केन्द्र, कोसेली घर, स्थानीय बजारको बजारीकरण गर्न सक्नु पर्नेमा घरेलु कार्यालयको घिमिरेले ध्यानाकर्षण गरे । 

 

 

त्यस्तै एक जोर राम्रो कपडा सिलाउने दक्ष जनशक्ति नभएको भन्दै सीमित व्यक्तिहरूलाई तालिम दिएर जे भन्यो त्यही, जस्तो भन्यो, त्यस्तै सामान उत्पादन गर्ने सक्ने जनशक्ति बनाउनु पर्नेमा टेलर व्यवसायी गोपाल नेपालीले बताए । उनले जेको तालिम दिए पनि दक्ष र गर्न सक्ने बनाउनु पर्नेमा जोड् दिए । 

 

 

त्यस्तै स्थानीय उत्पादनलाई क्वान्टिटिको रूपमा मात्रै नभएर क्वालिटीको बनाउनु पर्नेमा पत्रकार टीका भट्टले जोड् दिए । उनले यहाँ उत्पादन भइरहेको जुनारको ‘जुस’ र ‘बिस्कुट’ उत्पादनको नाममा, उत्पादन मात्रै भएको भन्दै यसको गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड् दिए ।

 

उनले भने ‘हामी उत्पादनको मात्रै कुरा नगरौँ । उत्पादन भइरहेका वस्तुलाई गुणस्तरीय बनाउन लागौँ । जुनारको ‘जुस’ र ‘बिस्कुट’लाई क्वालिटी सहित ब्राण्डिङ् बनाउन । अनि बजार पाउँछ ।’ 

 

सञ्चालनमा रहेका उद्योगहरूलाई ‘ब्राण्डिङ’ गरेर थप राम्रो बनाउनु पर्ने र आवश्यकता रहेका ठाउँमा स्थानीय तहहरूको पहलमा थप गर्दै जानु पर्नेमा उनको जोड् छ । 

 

त्यस्तै निवर्तमान वडा अध्यक्ष समेत रहेका होटेल तथा पर्यटन व्यवसायी शेखर श्रेष्ठले दोरम्बा, उमाकुण्ड र गोकुलगंगामा उत्पादित आलुबाट आलु चिप्स, आलुका परिकार, किवीका परिकार, जुस, वाइन बनाउन सक्नु पर्नेमा जोड् दिए । उनले यसको लागि आवश्यक उद्योग र उपकरण स्थानीय तहले सञ्चालन गर्न पनि आग्रह गरे ।

 

वक्ताहरूले यहाँका आट वटै पालिकाहरू कुनै न, कुनै उत्पादनको लागि विशेषता बोकेको भएकाले यी उत्पादनको लागि पायक र सञ्चालित हुने गरी उद्योग सञ्चालन र व्यवस्थापन गर्न कार्यालयलाई सुझाव दिएका छन् ।