‘स्थापित दलहरू नसच्चिए नयाँ शक्तिको उदय हुन सक्छ’–सांसद चौलागाइ (भिडिओसहित)

| मंसिर २९, २०७९ बिहिबार

A A A
A A A

२९ मंसिर, रामेछाप । रामेछापबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य (सांसद) युवराज चौलागाइले स्थापित दलहरू नसच्चिए आगामी वर्षहरूमा नयाँ शक्तिको उजागर हुने बताएका छन् । अहिलेको निर्वाचनमा ‘घण्टी’को उदय यसको सङ्केत भएको इङ्गित गर्दै उनले ‘घण्टी’ एउटा सांकेतिकरुप भएको तर्क गरे । 

 

 

नेपाल पत्रकार महासङ्घ रामेछापको शाखाको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद चौलागाइले जनमत परिवर्तनको पक्षमा स्पष्ट देखिएकाले अब स्थापित दलहरू सच्चिएर जनताको अपेक्षा अनुसारको काम नगर्ने हो भने नयाँ शक्तिहरू आउने टिप्पणी गरे ।

 

 

‘यदि त्यसो हुन नसकेको खण्डमा नयाँ शक्तिहरूको उदय हुन्छ । र, यो एकदमै सोचेको भन्दा फरक हुन्छ । फेरी, त्यो ठाउँमा आउन त, सकिएला । तर, त्यो सोचेको भन्दा, धेरै फरक र मूल्य चुकाउनु पर्ने हुन्छ । घण्टी सधैँ बस्छ भन्ने हैन । तर, नयाँ शक्तिको उदय अवश्य हुन्छ । त्यसैले काँग्रेस, माओवादी र एमाले सच्चिनु पर्छ भन्ने मैले बुझेको छु, सांसद चौलागाइले भने ।’

 

 

उनले अहिलेको परिवर्तन ल्याउन स्थापित दलहरूको ठुलो योगदान गरेको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्व भएकोमा जोड् दिए । उनले जनप्रतिनिधिमा नियत राम्रो हुनु पर्ने र काम गर्नु पर्ने आजको आवश्यकता देखिएको दोहोराए । 

 

 

उनले जनमत परिवर्तनको पक्षमा देखिएकाले मलाई निर्वाचित गराउनेको सपना र चाहाना पूरा गर्न सक्छु कि, सक्दिन भन्ने प्रश्नले मलाई नै सताउन थालेको छ  भने ।

 

 

अहिलेको प्रतिनिधिसभाका सांसदहरू चुनौती नै चुनौतीको पहाडमा रहेको उनको भनाई छ ।