खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ‘पालिकाको फेसबुक पेज ह्याक भयो, पत्रकार र मिडिया चाहिन्छ’

| पुस १, २०७९ शुक्रबार

A A A
A A A

१ पुष, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफूलाई सञ्चारमाध्यम र पत्रकारसँगको सहकार्य चाहिने टिप्पणी गरेका छन् । निर्वाचित भएपछि उनी सञ्चारमाध्यम र पत्रकार नचाहिने भन्दै पालिकाकै फेसबुक पेजबाट समाचार, सूचना जानकारी पालिकावासीलाई दिने अभिव्यक्ति दिँदै आएका थिए । जसअनुसार उनी आएपछि सो पालिकाको पेज ‘एक्टिभ’ पनि भएको थियो । साथै उनी जिल्लाका पत्रकारहरूसँग पनि आक्रोशित र रुष्ट देखिँदै आएका थिए । ५ वर्षमा पालिकाको मुहार फेर्ने गरी काम गर्ने पालिका अध्यक्ष श्रेष्ठको भनाई छ । 

 

बिहिबार नेपाल पत्रकार महासंघ रामेछापको १९ औँ साधारण सभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष श्रेष्ठले भने ‘तपाईँहरूको साथ मलाई चाहिन्छ । हामीले गरेका राम्रा, नराम्रा कामलाई तपाईँहरूले प्रचारप्रसार गरिदिनु पर्छ । नराम्रो गरेमा खबरदारी हुनु पर्‍यो । मैले केही अगाडि संचारमाध्याम र पत्रकार चाहिँदैन भनेको थिएँ । मलाई तपाईँहरू चाहिन्छ । प्रचारप्रसार गरिदिनु पर्‍यो । सत्य, तथ्य सम्प्रेषण हुनु आवश्यक छ, कान छुँदै, मलाई माफ गरिदिनुहोस् भने ।’ डिजिटल मिडियामा जानु पर्ने उनले जोड् दिए । 

 

 

अध्यक्ष श्रेष्ठले केही समय अगाडि सञ्चारमाध्यम र पत्रकारहरू नचाहिने, पालिकाको आफ्नै फेसबुक पेजमार्फत सूचना, जानकारी प्रचारप्रसार गर्ने छु भन्दै आएको हुन् । सोही प्रसङ्ग सुनाउँदै अध्यक्ष श्रेष्ठले भने ‘२५ सय लाइक पेज भएको पेजलाई बढाएर ११ हजार पुर्‍याए । तर, ह्याक भइहाल्यो । ह्याक गर्ने विरुद्ध कारबाहीको लागि मुद्दा हालेको छु । मेरो व्यक्तिगत फेसबुक पनि फलोअर्स बढेको छ । त्यहाँ पनि लेख्छु । पालिका अध्यक्ष हुनु अगाडि ३ हजार जति फलोअर्स थिए । अहिले ८÷९ हजार पुगेका छन् । छुच्चा कुरा गर्न थालेपछि बढेको छ । त्यत्तिले मात्रै नपुग्ने देखियो अब पत्रकारहरूसँग सहकार्य गर्न तयार छु ।’

 

पालिकामा नयाँ र दीर्घकालीन काम गर्न लागेको सुनाउँदै उनले नीति र विधि भन्दा बाहिर गएर कुनै काम नगर्ने अडान पनि व्यक्त गरे । नीति र विधि नमान्दा पालिकाभित्रका जनताको लागि आफू नराम्रो पालिका अध्यक्ष भैसकेको दोहोर्‍याए । ‘म दङ्दङी गनाएको छु पालिकावासीको लागि, अझै गनाउँछु । ४ वर्ष भरी बेस्सरी गनाउँछु र ५ वर्षमा यो पालिकाको समृद्धिको सपना साहाकार पर्छु, अध्यक्ष श्रेष्ठले भने ।  

 

पूर्वाधारलाई चौथौँ प्राथमिकता दिएर काम गर्दै गरेको जानकारी गराएका पालिका अध्यक्ष श्रेष्ठले कृषिमा आमूल परिवर्तन बिना देश विकास सम्भव नभएको जिकिर गरे । उनले उत्पादनलाई बढाएर निर्यात गर्नु पर्ने र आम्दानीको स्रोत बढाउनुको विकल्प नहरेको ठोकुवा गरे । 

 

एमालेबाट निर्वाचित अध्यक्ष श्रेष्ठले बिपी कोइरालाको मेलमिलापको नीति स्मरण गर्दै काँग्रेस र माओवादी जस्ता कुनै पनि पार्टीले विश्वमा नेपाली हुँ भनेर शिर ठाडो र गौरवान्वित हुने गरी देश विकास गरे आफू ती पार्टीमा जाने समेत बताए । ‘पार्टीमा कोही पनि स्थायी हुँदैन । काँग्रेस र माओवादीले यो देशको कायापलट हुने गरी काम गरुन् म, त्यो हुन्छु मैले घोषणा गरे उनले भने ।’

 

 

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वधरको विकासमा स्थानीय स्रोत सधानको प्रयोग गरेर गर्नु पर्ने र जनताको जीवन स्तर माथि उठाउनु पर्नेमा उनको जोड् छ ।