पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभाः कूल ४ लाख ५० हजारको पत्रकार पुरस्कार कोष स्थापना

| पुस ३, २०७९ आइतबार

A A A
A A A

३ पुस, रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको १९ औँ साधारण सभा गत मंसिर २९ गते शुक्रबार सम्पन्न भएको छ । सो अवसर पारेर चार वटा पत्रकारीता पुरस्कार घोषणा गरिएको छ । 

 

जिल्ला शाखाका सक्रिय पत्रकारहरुलाई प्रदान गर्ने गरी यी कोष खडा गरीएको घोषणा कर्ताहरुले उद्घोष गरेका छन् । पत्रकारहरुलाई पेशा प्रति थप क्रियाशिल हुन प्रेरित गर्ने उद्देश्यले छुट्टा–छुटै विधामा पुरस्कार दिने गरी नेपाल पत्रकार महासंघ शाखाका निवर्तमान अध्यक्ष सहित सांसद समेतले ‘अक्षय कोष स्थापना’ गर्ने घोषणा गरेका हुन् । 

 


जसमा प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेस जिल्ला शाखा रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले नगद २ लाख एक हजार, खाँडादेवी गाउँपालिका वडा नं ६ का अध्यक्ष नारायणबहादुर कार्कीले नगद एक लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरेका छन् । 

 


त्यस्तै पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष टीका प्रसाद भट्टले नगद एक लाख र निवर्तमान अध्यक्ष रमेश ढुंगेलले ५० हजार बराबरको ‘अक्षय कोष’ स्थापना गर्ने घोषणा गरेका हुन् ।  

 

गत शुक्रबार सम्पन्न १९ औं साधारण सभामा यसरी जिल्ला शाखामा छुट्टा–छुट्टै गरी कूल ४ लाख ५० हजारको कोष स्थापना भएको हो । जसमा पूर्व अध्यक्ष भट्टले स्थापना गरेको कोषबाट आउँदो साउन २६ गते पुरस्कार प्रदान गर्ने घोषणा पनि पत्रकार भट्टले गरेका छन् । 

 


महासंघका अध्यक्ष बद्री नयाँघरेले छिट्टैनै कार्यबिधि बनाएर कार्यान्वयनमा ल्याउने बताए । यसअगाडि जिल्लामा अन्य पत्रकार पुरस्कार छैनन् । विभिन्न स्थानीय तह, संघसंगठनले मात्रै प्रचारप्रसारमा योगदान दिँदै आएको भन्दै सम्मान दिने गरेका छन् ।