रामेछापमा आलु र किवीको उत्पादन उल्लेख्य बढ्यो

| पुस ३, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

३ पुस, रामेछाप । रामेछापमा आलु र किवी उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष जिल्लामा ४२६ मेटिक्टन् आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । 

 

 

कूल तीन हजार २७८ हेक्टर क्षेत्रफलमा लगाएको हिउँदे आलु ५० हजार ५५ मेटिक्टन् उत्पादन भएको ज्ञान केन्द्र रामेछापले जनाएको हो । आलुको उत्पादकत्व यस वर्ष १५.२७ मेटिक्टन् प्रति हेक्टर रहेको छ जुन गत वर्ष १५.१४ मेटिक्टन् प्रति हेक्टर रहेको थियो । 

 

यस वर्ष आलुको उत्पादकत्वमा केही वृद्धि हुनुमा उन्नत बीउको प्रयोग, बीउको उचित भण्डारण, सिँचाइ सुविधाको क्रमिक विस्तार, मौसम अनुकूल हुनु, समयमा आकस्मिक वाली संरक्षणको काम हुनु, यान्त्रीकरणको प्रयोगबाट समयमा बीउ रोप्न पाउनु, आवश्यक प्राविधिक सहयोग आदि रहेको ज्ञान केन्द्रकी सूचना अधिकारी शर्मिला फुयाँलले जानकारी दिइन् ।

 

 

उनका अनुसार आलुमा देखा परेको सेमिलुपर कीराको प्रकोपले कूल उत्पादनको करिब ८ प्रतिशतमा उत्पादनमा क्षति पुर्‍याएको छ । आलुको राष्ट्रिय औसत उत्पादकत्व १६.७ मेटिक्टन् प्रति हेक्टर रहेको छ । 

 

 

त्यस्तै किवी फल खेती पनि जिल्लामा फस्टाएको छ । विगत तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा उत्पादन र उत्पादकत्व क्रमशः बढ्दै गइरहेको पाइएको ज्ञान केन्द्र रामेछापले बताएको छ।अघिल्ला वर्षहरूमा स्थापित किवी बगैँचाबाट उत्पादन बढ्ने क्रममा रहेको र यो साल पनि किवीको उत्पादन बढेको देखिएको छ ।

उमाकुण्ड गाउँपालिका वडा नं ६ गौश्वाराका नारायाण खड्का उत्पादन गरेको किवी, तस्विर फाइल ।

 

जिल्लाको २०४ हेक्टर क्षेत्रफलमा भएको किवी खेती विस्तार भएकोमा उत्पादनशील ५७ हेक्टर क्षेत्रफलबाट ८.१ मेटिक्टन् प्रति हेक्टर उत्पादकत्व कायम भएको जनाइएको छ ।  यो वर्ष ४६२ मेटिक्टन् उत्पादन भएको पाइएको छ । जुन गत वर्षको उत्पादकत्व ७.१ मेटिक्टन् प्रति हेक्टर भन्दा बढी रहेको ज्ञान केन्द्र रामेछापले जनाएको हो । 

 

 

तुलनात्मक रूपमा ५७ मेटिक्टन् किवी गत वर्षको भन्दा बढी फलेको छ । किवीको उत्पादकत्वमा वृद्धि हुनुमा रोग कीराको न्यून असर, फुल फुल्ने समयमा हावाहुरीबाट कम क्षति हुनु र पुराना बगैँचाको केही हदसम्म उचित व्यवस्थापन हुनु रहेको ज्ञान केन्द्र रामेछापले जनाएको छ । 

 

 

गुणस्तरीय किवी फलको लागि किवी फल टिप्ने अवस्था, फलको भण्डारण र बगैँचाको स्याहार संभारमा ध्यान दिनु आवश्यक देखिने किसानहरू बत्ताउँछन् । 

 

यो वर्ष किवी उत्पादन राम्रो भएपछि किसानले बजार भने पाउन नसकेको किसानहरूको गुनासो छ।केही मात्रमा बिक्री भए पनि राम्रो भाउ नपाएको अधिकांश किसानहरूले गुनासो गरेका छन् । कतिपय किसानहरूको फल बारीमै कुहिन थालेको गुनासो गरेका छन् । 

 

यो पनि पढ्नुहोस् 

किवी नबिकेपछि रामेछापका किसान चिन्तित, ज्ञान केन्द्र भन्छ ‘नबिकेको हैन भाउ नपाएका हुन्’
रामेछापका किसानले फलाएको किवी-आजको तस्विर
‘रामेछापमा उत्पादित जुनारको जुस र बिस्कुटलाई क्वालिटी सहित ब्राण्डिङ् गरौँ’
धमा-धम् यसरी निर्यात हुदैछ दोरम्बा शैलुङ्बाट आलु (तस्विर)
रामेछापमा यस वर्ष आलु उत्पादन घट्यो, ८५ प्रतिशत मात्रै धान रोपाई