सांसद ‘कान्छाराम’ले कुलमान घिसिङलाई भेटेर ‘रामेछापेलीले विद्युतको समस्या खेप्नु नपरोस्’ भनेपछि कुलमानको सिधै मन्थली शाखालाई फोन

| पुस ४, २०७९ सोमबार

A A A
A A A

४ पुस, रामेछाप । रामेछापबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ् (कान्छाराम) ले जिल्लामा रहेको विद्युतसंग सम्बन्धित समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गरेका छन् । रामेछापेली जनताले विद्युतको समस्या खेप्न नपर्ने गरी काम हुनु पर्नेमा सांसद तामाङले निर्देशन समेत दिएका छन् । 

 

 

सांसद भएपछि आइतबार प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई भेट्दै नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले समग्र रामेछापको विद्युतमा रहेको समस्याहरू चाँडै हल गर्ने विषयमा छलफल गरेको रामेछाप नगरपालिकाका पार्टी नगर सभापति कमलविक्रम कार्कीले जानकारी दिए । उनले तामाङको भनाई उदृत गर्दै भने ‘रामेछापका जनता र उद्योगले विद्युत् समस्या खेप्नु नपरोस् । बिजुली नभएर बन्द हुने, चल्न नपाउने अवस्था नहोस् ।’ 

 

जिल्ला अस्पतालमा भएको बिजुलीको अवरोधको बारेमा छलफल गर्ने पुगेका सांसद तामाङले उमाकुण्ड र लिखु तामाकोसी गाउँपालिकाका विभिन्न वडामा पनि समस्या रहेकाले उक्त समस्याहरू पनि समाधान गर्न सुझाएका थिए । तत्कालै प्राधिकरण प्रमुख घिसिङले मन्थली वितरण केन्द्रका प्रमुखलाई फोन गरेर ती समस्याहरू समाधान गर्न निर्देशन दिए । ‘उहाँले तत्काल मानेज्यूकै ठाउँबाट फोन गरेर काम गर्न भन्नु भयो । काम हुन्छ भन्ने विश्वासमा छौँ कार्कीले रामेछाप टाइम्ससंग भने ।’

 

करिब एक घण्टा बढी भएको छलफलमा जिल्लालाई पूर्ण विद्युतिकरण गर्ने चरणमा काम भइरहेको तर, कामले गुणस्तरीयता र दिगो हुनु पर्नेमा जोड् दिन सांसद तामाङले जिकिर गरेका छन् 

 

 

रामेछाप र काभ्रे जिल्लामा गरी कूल ७९ करोडमा टेण्टर भरेर काम सुरु गर्न लागेको सिग्मा कन्स्ट्रक्सनले गर्न लागेको विद्युतिकरणको कामलाई समेत जोड्दै यो कामलाई दीर्घकालीन र व्यवस्थित गर्ने विषयमा पनि छलफल भएको कार्कीले जानकारी दिए । 

 

 

जिल्ला अस्पतालमा बिजुलीको अभावमा हाल अक्सिजन उत्पादन हुन सकेको छैन । यसलाई पहिलो प्राथमिकता दिएर कुलमानले वितरण केन्द्रलाई कसरी हुन्छ व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ काम हुन्छ यो हाम्रो ठुलो उपलब्धि हुने खुसी हुँदै सभापति कार्कीले सुनाए ।

 

 

उनका अनुसार जिल्ला अस्पताल रामेछापका लागि अक्सिजन प्लान्ट नियमित सञ्चालन गर्न र अन्य प्रयोजनका लागि प्राधिकरण वितरण केन्द्र मन्थलीबाट छुट्टै फिडर निकालेर विद्युत् प्रयोग गर्ने विषयमा छलफल भएको छ । 

 

 

सांसद तामाङले जिल्ला अस्पताललाई छुट्टै ११ केभी लाइन निर्माण गर्न वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएको छलफलमा उपस्थित सभापति कार्कीले जानकारी दिए । जवाफमा प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले समस्या समाधान गर्न तयार रहेको बताएका थिए । 

 

यसअगाडि रामेछाप नगरपालिकाले पनि जिल्ला अस्पताललाई विद्युत् आपूर्तिमा भएको समस्या समाधान गर्ने निर्णय गरेको थियो । अब, सो निर्देशनको कार्यान्वयन भएमा विद्युत् समस्याले अबरोद्ध हुँदै आएको जिल्ला अस्पतालको नियमित अक्सिजन उत्पादन नियमित रूपमा हुने छ । 

 

 

यसरी अक्सिजन उत्पादन भएमा यहाँबाट अक्सिजन निर्यात हुने जिल्ला अस्पताल रामेछापको भनाई छ । त्यसको लागि आवश्यक पूर्वाधार तयार यस अगाडिकै भइसहेको छ । 

 

यसअगाडि बिजुलीको समस्या समाधान गर्न प्रदेश सांसद युवराज चौलागाईले पनि प्राधिकरण रामेछापका प्रमुखसँग भेटेर छलफल गरेका थिए ।