मन्थली नगरपालिकाले यो वर्ष ५ वटा वडा कार्यालय भवन बनाउँदै, कुन–कुन वडाको बन्दै छ ?

| पुस ७, २०७९ बिहिबार

मन्थली नगरपालिका वडा नं २ को वडा कार्यालय । तस्बिर फाइल ।
A A A
A A A

७ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा ५ वटा वडा कार्यालय भवनहरू बनाउने भएको छ । सबै वडा कार्यालय जोड्ने सडकलाई १२ महिना सञ्चालन गर्ने गरी काम भइरहेको नगरपालिकाको भनाई छ ।

  

बिहीबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका प्रमुख इन्जिनियर डिल्ली अधिकारीका अनुसार चालु आर्थिक वर्षमा पूर्वाधार विकास अन्तरगत सङ्घीय सरकार, प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा नगरको वडा नं ३, ७, ८, ११ र १३ को भवन बन्न लागेको हो । ‘सम्झौता भएर काम अगाडि बढेको छ । कुनै ठेक्का मार्फत बन्छ। कुनै समिति । यी काम सुरु भैसकेको छन् । ५ वटा वडा कार्यालयको भवन यो आ.व.मा बन्छन् ।’

 

हाल सम्म पहिलो कार्यकाल सकाएका जनप्रतिनिधिले नगरपालिकाको कार्यालय सहित वडा नं २, १० र १४ को २ तल्ले पक्की भवन निर्माण सकिएका छन् । यी कार्यालय बाटै सेवा प्रदान गर्दै आएका छन् । ‘हामीले एकै ‘डिजाइन’ का दुई तल्ले भवन बनाउने छौँ । यी वडाहरूको भवनबाटै सेवा सुरु भइरहेको छ ।’

 

यो वर्ष बन्ने चार वटा भवन निर्माणको लागि ठेक्का सम्झौता गरेर र समिति मार्फत बनाउने गरी काम अगाडि बढेको इन्जिनियर अधिकारी बताउँछन् ।उनका अनुसार यो वर्ष वडा ८ नम्बरको पनि भवन बन्ने छ । जुन वडा कार्यालय भवन सहरी विकास तथा भवन निर्माण कार्यालयले बनाउन लागेको उनले जानकारी दिए ।

 

मन्थली स्थित तामाकोसी अस्पताल नजिकै निर्माणाधीन वडा नं १ को वडा कार्यालय एक तल्ले बनेको छ । यो वर्ष थप एक तल्ले थप्नको लागि सम्झौता भइसहेको छ । ‘यो वर्ष एक तल्ले थप हुन्छ । त्यसपछि सेवामा तयार हुन्छ ।’

 

इन्जिनियर अधिकारीका अनुसार एउटा वडा कार्यालय भवन बनाउन कम्तीमा २ करोड माथि बजेट लाग्ने हुँदा एकै चरणमा सम्भव नभएको हो । ‘एउटा भवन बनाउन २ करोड माथि लाग्छ । १४ वटा भवन बनाउँदा २८ करोड ज्यादा लाग्ने रहेछ । त्यसैले पनि क्रमैसँग बन्ने छन् उनले भने ।’

 

१४ वटै वडा कार्यालय जोड्ने सडक निर्माणाधिनकै चरणमा 

त्यस्तै पूर्वाधार विकासको क्षेत्रमा धमाधम काम भइरहेको दाबी गर्दै अधिकारीले यी सबै वडा कार्यालयमा पुग्न सहज रूपमा सडक विस्तार, स्तर उन्नति, कालोपत्रे हुने चरणमा काम भइरहेको बताए ।

 

सबै वडा कार्यालय जोड्ने ८ वटा मुख्य सडक सञ्जाल विस्तार, स्तर उन्नति,  कालोपत्रे गर्ने काम विभिन्न चरणमा हुँदै छन् । निर्माणाधीन सडकलाई थप व्यवस्थित र १२ महिना सहज रूपमा आवात्–जावातको लागि सहज बनाउने हेतुले काम हुँदै छ इन्जिनियर अधिकारीले सुनाए ।

 

 १४ वटै वडा कार्यालयलाई जोड्न यी सडकहरू प्रदेश सरकार र पूर्वाधार विकास कार्यालयको साझेदारीमा निर्माणाधीन रहेका हुन्   । हालसम्म नगरपालिकाले आफ्नै लगानीमा ३६ किलोमिटर सडक कालोपत्रे ÷ढलान भएको छ । जसमा मन्थली–देवीटार सडक रहेको उनले बताए । 

 

त्यस्तै १२ किलो मिटर सडक आफ्नै लगानीमा विस्तार गरेको यो नगरपालिकाले वडा नं १० मा केही कम भएको उनले स्वीकार गरे । र, ६ नम्बरमा भने वडा कार्यालय भवन कहाँ बस्ने भन्ने निश्चित नहुँदा सडकमा विस्तारमा समस्या देखिएको जानकारी दिए ।