रामेछाप उद्योग वाणिज्य संघको माघ २१ गते साधारण सभा, अधिवेशन एक महिना पछि हुने निश्चित

| पुस ९, २०७९ शनिबार

पदाधिकारी बैठक । तस्बिर फाइल ।
A A A
A A A

८ पुस, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले १४ औँ वार्षिक साधारण सभा आउँदो माघ २१ गते गर्ने भएको छ । साधारण सभा सकिएको मितिले एक महिना भित्र संघको ८ औँ जिल्ला अधिवेशन (निर्वाचन) समेत हुने निश्चित छ । 

 

 

गत मंसिर ५ गते बसेको संघको ३४ औँ नियमित पदाधिकारी बैठकले माघ २१ गते साधारण सभा गर्ने निर्णय गरेको सचिव सुरेश उदाशले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 

‘माघ २१ गते साधारण सभा सम्पन्न भएपछि त्यसको एक महिना भित्र निर्वाचन हुन्छ सचिव उदाशले भने ।’

सोही बैठकले साधारण सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश ढकालको प्रमुख आतिथेतामा साधारण सभा गर्ने निर्णय गरेको सचिव उदाशले जानकारी दिए । 

 

 

२०४९ सालमा स्थापना भएर जिल्ला सदरमुकाम मन्थलीमा आफ्नै सुविधा सम्पन्न भवनबाट व्यवसायीहरूको हितको लागि काम गर्दै आएको सङ्घमा गत मंसिर मसान्त सम्म कूल १४ सय ३ जना सदस्यता रहेको कार्यकारी अधिकृत नवीन के.सी (घिमिरे) ले रामेछाप टाइम्सलाई बताए । 

यो सङ्ख्या गत आर्थिक वर्षमा १३ सय ८७ जना रहेको थियो । चालु आर्थिक वर्षमा १६ जना थप भएका हुन् ।  

 

 

२०७६ साल माघ ५ गते भएको ७ औँ जिल्ला अधिवेशनबाट निर्वाचित केशव घिमिरेको अध्यक्षतामा ३ वर्षे कार्यकालको लागि १७ सदस्यीय पदाधिकारी निर्वाचित भएका थिए । 

स्रोत उद्योग वाणिज्य संघ रामेछाप । 

 

साधारण सभा नजिकिँदै जाँदा निर्वाचनले पनि चर्चा पाउन थालेको छ । नेतृत्वको लागि निकै रस्साकस्सी हुने संघको नेतृत्वको लागि आकाङ्क्षीहरू देखिने क्रम बढ्दो छ ।