सुनकोसी नदीबाट मध्यराति बालुवा र ढुङ्गा तस्करी, पालिका अध्यक्ष सहितले नियन्त्रणमा लिएका ३ टिफर जरिवाना तिरेर छुटे (भिडिओसहित)

| पुस १६, २०७९ शनिबार

A A A
A A A

१६ पुस, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष सहितको टोलीले मध्यरातमा सुनकोसी नदीबाट नदीजन्य सामाग्री चोरी निकासी गर्दै गरेको एक गिरोहलाई नियन्त्रण गर्न सफल भएको छ ।  

 

 

गत बिहीबार राति पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सहितको टोलीले सुनकोसी नदी किनारबाटै सामाग्री उत्खनन गर्दै गरेको जेसीबी र टिफरहरु नियन्त्रणमा लिएको पालिका अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । 

 

 

अवैध रूपमा सुनकोसी नदी किनारबाट बालुवा, ढुङ्गा जस्ता सामाग्री राज्यलाई तिर्नु पर्ने कर नतिरी राति चोरी गर्दै गरेका उक्त गिरोहलाई पालिकाको वडा नं १ स्थित सुनकोसी नदी किनारबाट पक्राउ गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

 

मध्यरात नदीजन्य पदार्थ चोरी,पैठारी भएको गोप्य सूचनाको आधारमा खटिएको पालिका अध्यक्ष श्रेष्ठसहितको टोलीले सामाग्री उत्खनन गर्दै गरेका २ वटा ‘एक्स्काभेटर’ र ३ वटा टिफर नियन्त्रणमा लिएको जनाइएको छ । 

नियन्त्रणमा लिएको जेसिबी । तस्बिर स्रोत जिवनराना मगर । 

पालिका अध्यक्ष श्रेष्ठले भने ‘ गोप्य सूचनाको आधारमा मसँग पालिका केही कर्मचारी र प्रहरी सहित राती कोसी किनारमा पुगेका थियौँ । अवैध रूपमा उत्खनन भइरहेको ठाउँमा हामी पुग्दा टिफर र एक्स्काभेटर चालक र सह–चालक फरार भए । चालक र सह–चालक घटनास्थलबाट फरार भएपछि उक्त स्थानमा छाडिएका ‘एक्स्काभेटर’ र टिफर आवश्यक कारबाहीको लागि प्रहरीको जिम्मा लगायौँ ।’

 

उनीहरूलाई स्थानीय स्वायत्त शासन अनुसार कारबाही गरिएको जनाइएको छ । पालिका अध्यक्ष सहितको टोली त्यहाँ पुगेपछि चोरी पैठारीमा पुगेकाहरू भने फरार भएका छन् । 

 

यसैबिच शुक्रवार तीन वटा टिफर छाडिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार सम्पर्कमा आएको मध्य पहाडी राजमार्ग आयोजनासँग सम्बन्धितले नदी जन्य सामाग्री उत्खनन गरेको पाइएको छ । आयोजनाबाट सम्पर्कमा आएको प्रमुख प्रशासकीय लामिछानेले रामेछाप टाइम सलाई बताए । उनले भने ‘मध्य पहाडी राजमार्ग निर्माणको लागि सामाग्री झिकेको भनेर आयोजनाका मान्छे आउनु भयो । छलफलपछि प्रदेश आर्थिक ऐन अनुसार ७९ अनुसार १५ हजारको दरले ४५ हजार जरिवाना तिराएर ३ वटा टिफर छाडिएको छ । जेसीबी छाड्ने विषयमा जिल्ला प्रशासन, पालिका र आयोजनाबिच छलफल गरेर टुङ्गो लाग्नेछ । ’

उनका अनुसार ३ वटा टिफर ४५ हजार जरिवाना तिरेर छुटेका छन् । मध्य पहाडी राजमार्ग राष्ट्रिय गौरवको योजना  पनि हो । 

 

सुनकोसी नदी पारि पट्टी सिन्धुली जिल्ला तर्फ बिपी राजमार्ग रहेको छ । वारी पट्टी रामेछाप तर्फ मध्य पहाडी राजमार्ग निमार्णाधिन अवस्थामा रहेको छ । 

 

रातीको समयमा तस्करहरूले कोसी तटीय क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरू नै असुरक्षित हुने किसिमले अवैध रूपमा बालुवा उत्खनन गर्ने गर्दा एकातिर बस्ती जोखिममा परेको छ भने अर्कोतिर मध्य पहाडी राजमार्गको सडक समेत पहिरोको जोखिममा परेको छ ।

 

नदीजन्य सामाग्रीको उत्खनन गर्न गाउँपालिकाले इआइए गरेको स्थानमा मात्रै गर्नुपर्ने, उत्खनन गर्दा ठुला जेसिभी प्रयोग गर्न नपाइने र ठुला–ठुला खाडल बनाएर उत्खनन गर्न नपाइने, बस्ती क्षेत्रमा उत्खनन गर्न नपाइने लगायतका नियम पालिकाले निर्धारण गरेको छ ।

 

 

नदीजन्य पदार्थ उत्खननको लागि खाँडादेवी गाउँपालिकाले कानुनी प्रक्रिया पुर्‍याएर टेन्डर प्रक्रियाद्वारा टेन्डर लगाएको छ । यसरी पालिकाले टेन्डर लगाएको भएता पनि टेन्डर लिने व्यक्तिलाई नदीजन्य पदार्थको कच्चा पदार्थ उत्खनन गर्न नदिई अन्य व्यक्तिले चोरी निकासी गरेपछि पालिकाले अनुगमनमा कडाइ गर्दै आएको पालिका जनाउँछ ।