६४ वडा रहेको रामेछापमा ४८ वटा वडा कार्यालयको बने पक्की भवन, जिल्लाकै ‘नमुना’ वडा कार्यालय भवन बनाएको गोकुलगंगाको दाबी

| पुस २०, २०७९ बुधबार

A A A
A A A

२० पुस, रामेछाप । आठ वटा स्थानीय तह रहेको रामेछापमा ७ वटा स्थानीय तहले वडा कार्यालय भवन निर्माणको काम करिब अन्तिम चरणमा पुर्‍याका छन् । ६४ वटा वडा कार्यालय रहेको यहाँ हालसम्म ४८ वटा वडा कार्यालयको नयाँ भवन बनेका हुन् । हाल सम्म जिल्लाको गोकुलगंगा गाउँपालिकाले पालिका सहित पूर्ण रूपमा नयाँ पक्कीहरू बनाएको छ । भने, लिखु तामाकोशी गाउँपालिकाको २ नम्बर सैपु बाहेकको पक्की भवन बन्न सकेको छैन । 

 

बुधवार रामेछाप टाइम्सलाई प्राप्त विवरण अनुसार सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा ५ वटा वडा कार्यालय भवनहरू बनाउने जनाएको छ । २, १० र १४ को भवनहरू निर्माण सकिएर सेवा प्रवाह हुँदै आएको यस नगरले चालु आर्थिक वर्षमा पूर्वाधार विकास अन्तरगत सङ्घीय सरकार, प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा वडा नं ३, ७, ८, ११ र १३ को भवन बनाउँदै छ । 

 

त्यस्तै पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा हालसम्म ८ नम्बर वडा कार्यालय बाहेक सबैको भवन लगभग निर्माण सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘केहीको पुरानै भवनहरू थिए । ८ नम्बरको हस्तान्तरणको प्रक्रियामा गएको छ, यहाँ लगबग् सबै वडाको भवन बनेको छ, पौडेलले भने ।’

खनियापानीमा पक्कि वडा कार्यालय भवन उत्घाटन्, तस्बिर फाइल । 

दुई नगरपालिकाको सुविधा सम्पन्न भवन बनेर यी भवनबाट सेवा प्रवाह हुँदै आएका छन् । सङ्घीयतामा गएपछि गाउँ–गाउँमा सिंहदरबार नारा समेत गुन्जिने गाउँमा वडा कार्यालयका पक्की भवन बनेर सेवा प्रदान गरिनु आजको आवश्यकता पनि हो । तर, एक कार्यकाल बिताएर जनप्रतिनिधि फेरिँदा सम्म धेरै वडा कार्यालयहरू भने बल्ल निर्माण सुरु हुँदै छन् ।  सुविधा सम्पन्न भवनहरू कतिपयको निर्माणकै चरणमा रहेको देखिन्छन् । 

 

 

जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा एक कार्यकाल बिताएका जनप्रतिनिधिले उपलब्धि मूलक काम गर्न नसक्दा यो पालिकामा हाल सम्म एउटा वडाको मात्रै भवन बनेको पालिकाका सूचना एवं प्रविधि अधिकारी प्रदीप बिसीले बताए । ‘२ को बाहेक बनेको छैनन् । यो वर्ष ३ वटा वडा कार्यालय भवन बन्ने काम सुरु भएको छ, बिसीले भने ।’

 

 

त्यस्तै जिल्लाको दुर्गम मानिने उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिकाको वडा नं ४ प्रिती बाहेकको वडा कार्यालय भवन नयाँ र पुरानो गरी निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले रामेछाप टाइम्सलाई बताए । ‘१ गुम्देलको हस्तान्तरको प्रक्रियामा छ । २ बाम्तिको बनिसकेको छ । ३ र ६ को पुरानै थियो । ५ र ७ मा बनेका छन् । अब ४ को मात्रै बन्न बाँकी छ । यो वर्ष बनाउने तयारीमा छौँ । चालु आर्थिक वर्षमा बन्छन् अध्यक्ष सुनुवारले रामेछाप टाइम्ससंग भने ।’

 

यो पालिकाले हाल सम्म प्रिफ्याँव भवनबाट सेवा दिँदै आएको छ । भने, पक्की भवन निर्माणको चरणमा रहेको छ । पालिकाको केन्द्र प्रितीको च्यादालुमा ३ वर्षमा निर्माण सक्ने गरी साँढे ८ करोड लागतमा ठेक्का मार्फत काम धमाधम भइरहेको पालिका अध्यक्ष सुनुवार बताउँछन् । ‘तीन वर्षमा सक्ने गरी सम्झौता भएर काम हुँदै छ । १८ महिनामै सक्ने गरी काम गर्छौ भनेका छन् । त्यही अनुसार काम हुँदै छ ।’

 

नमुना वडा कार्यालय भवन बनाउन जिल्लामै पहिलो भएको गोकुलगंगाको दाबी ।

पालिका भरीका ६ वटै वडा कार्यालय भवन एउटै ‘डिजाइन’ र एउटै ठेक्का मार्फत उस्ता÷उस्तै लागतमा, एकै प्रकारका भवन साँढे २ तल्लाको पक्की बनाएर सकेको यो पालिकाले वडा कार्यालय भवन बनाउन जिल्लाकै 'नमुना'को रूपमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले रामेछाप टाइम्सलाई बताए । 


 

‘हाम्रो पालिकामा एउटै डिजाइन र उस्तै लागतमा साँढे २ तल्लाको पक्की भवन बनाएर सेवा दिइरहेका छन्, पालिकाको पनि पक्की भवनबाटै सेवा प्रदान गर्दै आएका छौँ उनले जिल्लामै हामी पहिलो हुन सक्छौँ, एउटै डिजाइन, एकै साइजका भवन बनाएर सक्ने दाबी सहित भने ।’

 

 

पालिकाको केन्द्र रस्नालुमा साँढे २ करोड लागतमा सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्दै आएको यो पालिकाको केन्द्रमै हाल ‘लिफ्ट’ सहितको ९ करोड ३० लाख सङ्घीय सरकार र पालिकाको लागतमा अर्को सुविधा सम्पन्न भवन बन्दै छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिका ४० प्रतिशत लगतमा सुनकोसी निर्माण सेवासँग सम्झौता भएर काम धमाधम भइरहेको उनी बताउँछन् । 

 

 

उता जिल्लाकै स्थानीय तह मध्य पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृतबाट चलिरहेको दोरम्बा शैलुङ् गाउँपालिकाले पनि अधिकांश वडा कार्यालय भवन निर्माणको काम सकेको प्रमुख प्रशासकीय अधिकृत असली माया तामाङले रामेछाप टाइम्सलाई बताइन् । ‘२,३ र ४ पहिलेकै थिए । यो जी.वि.स.हुँदाकै हुन् । अहिले १,५, ६ र ७ नयाँ सम्पन्न भएका छन् अधिकृत तामाङले भनिन् ।

 

पालिकाको केन्द्र टोकरपुरमा प्रिफ्या भवनबाट सेवा दिँदै आएको यो पालिकाले पक्की भवन बनाउने काम तत्काल अगाडि नबढाउने प्रमुख प्रशासकीय अधिकृत तामाङको भनाई छ । 

 

‘२ र ३ अलि पुराना भवन हुन् । यी भवनलाई थप मर्मत गरेर काम भइरहेको छ । पालिकाको भवन अहिलै सुरु भएको छैन । आवश्यकता अनुसार काम गर्छौँ ।’

त्यस्तै खाँडादेवी गाउँपालिकाले हाल सम्म १, ४, ६, ८ र ९ को भवन निर्माण सकाएको छ । भने, २, ७ र ५ बाँकी रहेको पालिकाका सूचना अधिकारी ओम प्रकाश श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘३ को पहिलै थियो । यो वर्ष बाँकी रहेका २,७ र ५ को बनाउनको लागि समपूरकमा पेस गर्ने काम हुँदै छ । छलफलमै छ, सूचना अधिकारी श्रेष्ठले भने ।’

 

 

पालिकाको केन्द्र माकादुममा प्रिफ्याब भवनबाट सेवा दिँदै आएको यो पालिकाको पक्की भवन बनाउने काम तत्काल सुरु नहुने श्रेष्ठले बताए । ‘अपुग भवन थप हुने छन् । तर, पक्की भवन तत्काल सुरु हुँदैन ।’

 

उता सुनापति गाउँपालिकाले पनि ५ वटै वडा कार्यालयको पक्की भवन निर्माण सकेको छ । सबैलाई पायक पर्ने र भौगौलीकता अनुसार भवन निर्माण सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘५ वटै वडाको भवन निर्माण सकिएर सेवा दिँदै आएका छन् । निकै राम्रो भवनहरू बनेका छन् सुवेदीले भने ।’ 

 

 

पालिकाको केन्द्र हिलेदेवीमा हाल प्रिफ्याब भवनबाट सेवा प्रवाह हुँदै आएको यो पालिकाको पक्की भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘नयाँ वर्ष अगाडि नै (२०८०) हामी पक्की भवनबाट सेवा दिने गरी काम जारी छ । निर्माण अन्तिम–अन्तिममा पुगेको छ, सुवेदीले भने ।’

 

करिब ५ करोड लागतमा भवन निर्माण भइरहेको उनको भनाई छ । अब जिल्लाको मन्थली नगरपालिकामा ६ वटा, उमाकुण्डमा एउटा, खाँडादेवीमा ३ वटा र लिखुमा ६ वटा वडा कार्यालय भवनहरू बन्न बाँकी रहेका छन् । केही यो वर्ष बन्नेछन् । 

 

त्यस मध्यमा मन्थली नगरपालिकाको वडा नं ६ को भवन बनाउन जग्गाको सुनिश्चित नहुँदा अझै पनि अन्योलमै रहेको छ ।