सामाजिक सञ्जालमा भाइरल देवकोटाको सालिकको नालीबेली, कलाकारको अपमान भएको भन्दै युवाहरू आक्रोशित (भिडिओसहित)

| पुस २२, २०७९ शुक्रबार

A A A
A A A

२२ पुस, रामेछाप । रामेछाप नगरपालिकाको वडा नं ८ रामेछाप स्थित बिटार पार्कमा रहेको लक्ष्मी प्रसाद देवकोटाको सालिक यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । गलत तरिकाले प्रचार गरिएको भन्दै पार्क संरक्षण समितिले आपत्ति प्रकट गर्दै कु-प्रचारको घोर भ्रत्रसना गरेको छ । 

 

देशका विभिन्न जिल्लामा विभिन्न समयमा बनाइएका जीवजन्तु, देवीदेवताका मूर्ति, मान्छेका प्रतिमा र सालिकहरू बनाउँदा केही नमिलेको र आकार प्रकारमा फरक अर्थात् जस्तो बन्नु पर्ने हो, त्यस्तो नबनेको भन्दै केही दिन यता सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले ती वस्तु बनाउने, कालिगड, कलाकारहरू र सम्बन्धित पक्षलाई जोडेर आलोचनात्मक तरिकाले टीकाटिप्पणी गर्दै आएका छन् ।

जसको सिकार रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाबाट नजिकै रहेको रामेछाप नगरपालिकाको वडा नं ८ को सुकाजोर खोला छेउको बिटार पार्कमा रहेको लक्ष्मी प्रसाद देवकोटाको सालिक पनि परेको छ । यस्ता प्रतिमाहरू प्रायः उनीहरूको सम्मानमा निर्माण गर्ने गरिन्छ । कुनै ठाउँ विशेष, उत्पादन विशेष पनि हुने गर्दछन् । जस्तै सुन्तला उत्पादन हुने रामेछाप नगरपालिकामा नगरको मुख्य प्रवेशद्वार सुकाजोर खोलाको गेटमा सुन्तलाको प्रतिमा राखिएको छ । यसले सुन्तला यहाँ उत्पादन हुन्छ, पाइन्छ भन्ने पहिचान् गर्छ । 

 

मन्थली नगरपालिकामा तत्कालीन नगरप्रमुख रमेशकुमार बस्नेतले नगरपालिका अगाडि नेकपा एमालेका स्वर्गीय नेता मनमोहन अधिकारीको पूर्णकद्को सालिक पनि बनाएका छन् । त्यस्तै जिल्लामा विभिन्न ठाउँमा यस्ता अर्ध कद र पूर्ण कदका सालिक दर्जन बढी छन् । 

 

सामाजिक सञ्जालमा भाइरल देवकोटाको सालिक

यसको रोचक पक्ष चैँ के छ भने, यो सालिक वा प्रतिमा बनाउन स्थानीय सरकारको हाल सम्म एक रुपैयाँ पनि लागत परेको छैन । तर,  प्रचार १० लाखको सालिक भनेर गरिँदै छ । स्थानीय सरकारले छुटाएको लखौँ बजेटबाट हुने गरेको र त्यो बजेट खेर गएको, अनुत्पादक भएको धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले धारणा व्यक्त गरेको देख्ने सकिन्छ । तर, यसको वास्तविकता भने त्यो भन्दा धेरै फरक छ । 

 

विश्वभरि फैलिएको कोरोना महामारीको विकराल परिस्थितिमा देशव्यापी रूपमा लकडाउन भयो । जसको फलस्वरूप मानिसहरू घर बाहिर निस्कन समेत नपाउने स्थिति बनेको तपाई हामी सबैले भोगेकै हो । सोही बेला, सदरमुकाम मन्थलीमा विभिन्न व्यापार व्यवसाय गर्दै आएका यहाँका केही युवाहरूले दिन कटाउने मेलो खोजे जसको फलस्वरूप अहिले सुन्दर पार्क बनेको छ । 

महामारीमा सबै घरभित्रै सीमित बनेर बस्नु परेको त्यो बेलामा युवाहरूले भौतिक दूरी पालना गर्दै दिन भर जसो कसैले ढुङ्गा कुँदै, त कसैले आफूसँग भएको केही रकमले कुँदिएका ढुङ्गाका आकृतिमा रङ भरे । कसैले फलाम जोडे त, कसैले वाल, पर्खा लगायत पट्यार लाग्दो झाडी फाँडे । दिनहूको मेहनतपछि यसलाई एक सुन्दर पार्क बाउने साझा सपना बन्यो सबैको । वरपर रहेकाहरूसँग समन्वय, स्थानीय सरकार, अगुवाहरूसँग छलफल गर्दै गर्दै निःशुल्क रूपमै काम गरेर उनीहरूले र, तयार परे, कसैको लागि मन्थलीको दिक्क लाग्दो गर्मीको शितल् ताप्ने ठाउँ । 

 

यसै प्रसङ्गमा जोडिन्छ लक्ष्मी प्रसाद देवकोटाको सालिक । २०६० साल तिर तत्कालीन प्रमुख जिल्ला अधिकारी  (प्रजिअ) चूडामणि बस्यालले यहाँका गजेन्द्र बहादुर थापाको घरमा आऊ–जाऊ गर्थे । गजेन्द्र त्यो समयमा हातैले कुदेर आफूलाई मन परेको ‘चिज’को आकृति बनाउँथे ।

 

त्यो देखेर प्रजिअ बस्यालले गजेन्द्रलाई तपाईँले एउटा मैले भनेको चित्र बनाउनु पर्‍यो भन्ने ढिपी गरे । तर,फोटो हेरेर अहिले सम्म चित्र नबनाएका थापाले बनाउन सक्दि होला भने । प्रजिअको ढिपीपछि उनी बनाउन तयार भए । प्रजिअ बस्यालले लक्ष्मीप्रसाद देवकोटाको ‘ब्ल्याकइन् ह्वाइड् फोटो’ दिए र, भने यसको चित्र बनाउनू ।

 

प्रजिअकै सक्रियतामा एउटा मन्छेले हल्लाउन समेत नसक्ने ठुलो ढुङ्गा ल्याइदिए र थापाले करिब ९ महिना लगाएर देवकोटाको आकृति ढुङ्गामा कुँदे । बनेपछि स्थानीयहरूको रोहबरमा मन्थली स्थित देवकोटा चोकमै त्यो आकृति राखियो । त्यो बनाए बापत थापालाई कति ज्याला/ पैसा दिने भन्नेमा कुराकानी भएपछि थापाले मलाई पैसा चाहिँदैन । मलाई दिने पैसा यसको संरक्षणमा राखिदिनु भनेपछि सहमतिमै उक्त देवकोटाको सालिक राखेकै ठाउँमा नाम सहितको लेखिएको जानकारहरू बताउँछन् । 

स्रोत फेस्बुक ।

निकै वर्ष यो सालिक त्यही चोकमा राखियो । पछि यो ढुङ्गाबाट भन्दा सिमेन्टबाट बनाएर अलि राम्रो बन्छ भन्ने यहाँका अगुवाहरूको भनाइपछि सिमेन्ट लगायतबाट बनेको देवकोटाको सालिक यो ठाउँमा फेरियो । त्यसपछि थापाले बनाएको यो चित्र/आकृति बेवारिसे भयो । भुईँतिर फालियो । कुनै बेलात नालीको छेउतिर फालेका थिए । 

 

त्यसपछि यहाँकै मन्थली माध्यमिक विद्यालयले उठाएर विद्यालय परिसरमा राखेको थियो । त्यहाँ पनि बिना कलर यत्तिकै भित्तामा राखिएको थियो । यसरी राखिरहेकै अवस्थामा बिटार पार्क बनेपछि थापाका छोराले विद्यालय परिसरको भित्तामा राखेको यो देवकोटाको सालिकलाई पार्कमा लागे निधो गरे । 

 

विद्यालय प्रशासनसँग छलफल गरेर सहमतिमै त्यो सालिक पार्क लगियो । नाली तिर, भुईँमा फाल्दा नाक भाँचिएको थियो । मैले आफैले मिलाएर यत्तिको बनाएर यसलाई राख्ने ठाउँ बनाउन साथी भाइसँग केही रकम उठाएर बनाएर राखेको हौँ, गजेन्द्रका छोरा भुवनले रामेछाप टाइम्ससंग भने । 

भिडिओमा हेर्नुहोस् । 

यसरी उनले आफ्नो बुबाले बनाएको यो आकृतिमा बुबाको मेहनत, कला रहेको र त्यो बिना पैसा बनाएको स्पष्ट पारे । तर, सामाजिक सञ्जालमा अहिले ८ लाख १० लाख रुपैयाँमा बनाएको भनेर प्रचार गरिएको छ । अझ, स्थानीय सरकारले पो लाखौँ खर्चेर बनाएको भनेर प्रचार भएको देख्दा बुबा दुखित हुनु हुन्छ । अब बुबाले कहिले चित्र कोर्ने आँट गर्नु हुन्न सायद, दुखित हुँदै भुवनले भने । 

आकृति नमिलेको, लाखौँ खाएर यस्तो बनाएको भन्दा नराम्रो लाग्छ एक रुपियाँ नलिएर बनाएको उ,बेला आज यस्तो प्रचारले कलाकारको अपमान हो, उनी भन्छन् । 

 

यसैबिच पार्क संरक्षण समितिका अध्यक्ष सुनिलकुमार रायले पनि यो सालिक निःशुल्क बनाएको जिकिर गर्दै लाखौँ खर्चेर बनाएको प्रचारले आफूहरूको सम्मानमा ठेस् पुगेको बताए । हामीले एक रुपैयाँ नलिएर यसको संरक्षण गरेका छौँ । बनेको हो । तर, झूटो प्रचारले समितिलाई समेत बदनाम बनाउने काम भएको छ, त्यो स्वीकार्य छैन सुनिलेले भने । 

 

उनले सामाजिक सञ्जाल प्रयोग गर्दा भीम उपाध्यायेले यस्तो प्रचारलाई बढवा दिएको भन्दै उनले त्यो तत्काल रोक्नु पर्ने र त्यो नगरे आगामी दिनमा उपाध्यायेमाथि जस्तो सुकै परिस्थिति आउन सक्ने चेतावनी दिए । साथै तत्काल त्यस्ता झुटो प्रचार गर्ने काम रोक्न चेतावनी सहितको सुझाव दिए ।