अनिल साउद: ‘जो एक महिनादेखि निःशुल्क नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन्’ (फोटोफिचर)

| पुस २३, २०७९ शनिबार

A A A
A A A

२४ पुस, रामेछाप । रामेछापको मन्थली स्थित देवकोटा चोकमा प्रत्येक हप्ताको शनिवार बिहान अनिल साउदले निःशुल्क रूपमा यहाँका आम नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । 

 

गत मंसिरको २४ गते शनिवार देखि देवकोटा चोकको पिपल बोट फेदमा बसेर निशूल्क रूपमा नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका साउदले एक महिनामा एक सय २७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको रामेछाप टाइम्सलाई बताएका छन् । 

करिब २ वर्ष अगाडि तिलगंगा आँखा केन्द्रबाट यहाँ सरुवा भएर आएका साउदले आम नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै सेवा दिन चाहेको बताए । दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नं १ सर््माेली घर भएका साउद जिल्ला सामुदायिक आँखा केन्द्रमा कार्यरत छन् । 

 

करिब डेढ महिना अगाडि एक वृद्ध बा ले जाँचै नगरी औषधि खान लाग्नु भएको देखे अनि किन यसरी जाँच नगरी किन औषधि खान लागेको भनेर सोध्दा म, यसरी नै खान्छु, पैसा धेरै लाग्छ, हामीसँग छैन, भनेको सुने, त्यसैले शनिवारको दिन बिहान सुतेर बिताउने २ घण्टाको समय यहाँ आएर बस्न थाले । त्यस्ता मानिसको सेवा गर्न पाउँदा खुसी लाग्यो त्यसैले सुरु गरे उनले खुसी हुँदै भने ।

औषधि बाहेक बिपी चेक, तौल जाँच साथै स्वास्थ्य अवस्थाबारे परामर्श गर्ने गरेका छन् । उनी भन्छन् ‘मैले उच्च रक्तचाप र मधुमेहको दिनहुँ औषधि खाएर मर्निङ वाक गर्नेहरूलाई लक्षित गरेर यो कार्यक्रमको सुरुवात गरेको थिए । सोचे भन्दा धेरै मन्थली बजारमा मर्निङ वाक गर्नेहरू हुनुहुँदो रहेछन् । लगभग ९५ प्रतिशत शिक्षित आमाबुबा दाजुहरू हुनुहुन्छ। उहाँहरूको लागि यो निकै राम्रो गरेको जस्तो लागेको छ ।’ 

 

आफूले चेक गरेपछि स्वास्थ्य संस्थाहरूमा गएर नियमित रूपमा सुगर लगाएको परीक्षण भएको थाहा पाउँदा खुसी लागेको उनको भनाई छ । सुरुको दिनको परीक्षणको तथ्याङ्कलाई हेर्दा एक महिनामा ८० प्रतिशत व्यक्तिहरूको बिपी कन्ट्रोल भएको उनले बताए । 

मन्थली नगरपालिकाको अनुमति सहित रामेछाप सहयोगी मन (रासम) को सहकार्यमा यो कार्य प्रारम्भ भएको जानकारी दिँदै आगामी दिनमा निरन्तरता दिने बताए । 

 

उनले उनी कहाँ पुग्ने जनप्रतिनिधि,प्रहरी, पत्रकार, व्यापारी, बुद्धिजीवी, शिक्षक, अभिभावक, प्रहरी सहितको स्वास्थ्य परीक्षण गरी सकेका छन् ।