मन्थली बचतले २५ औँ स्थापना दिवसको अवसरमा गर्‍यो रक्तदान

| पुस २६, २०७९ मंगलबार

A A A
A A A

२६ पुस, रामेछाप । जिल्लामा रगत अभाव भएको तत्कालीन परिस्थितिलाई मध्यनजर गरी मन्थली बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५ औँ स्थापना (रजत जयन्ती) दिवसको अवसरमा रक्तदान गरेको छ । 

 

आफ्नो मातृ संस्था समेत रहेको तामाकोसी सहकारी अस्पताल मन्थलीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा सहकारीले रक्तदान कार्यक्रम गरेको हो । 

 

जसमा सहकारीका सदस्य, अस्पतालका स्वास्थ्यकर्मी, पत्रकार, सञ्चारकर्मी, विद्यार्थी सहित २० जनाले रक्तदान गरेका छन् । जसअनुसार २० जनाबाट १–१ पाउन्ड गरी कूल २० पाउन्ड रगत सङ्कलन भएको रेडक्रस रामेछापका शम्भुकुमार बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

पछिल्लो केही हप्ता यता जिल्लामा रगत अभाव भएको सम्बन्धित पक्षले बताउँदै आएको थियो । चिसो मौसम सुरु भएदेखि मानिसहरूमा रक्तदान गर्न नमिल्ने भन्ने भ्रम भएपछि रगत दिन नमान्दा रगतको अभाव भएको बुढाथोकीले बताए । ‘जाडोको बेलामा डोनेसन गर्न मिल्दैन भन्ने मानिसमा भ्रम छ । कतिपय दिन महानेहरुमा प्रेसर, सुगर जस्ता कारणले लिन मिल्दैन । त्यसैले पनि अभाव भएको हो, बुढाथोकीले भने। तर, स्वस्थ व्यक्तिले जुनसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने डाक्टरहरू बताउँछन् । 

 

सहकारीले रजत जयन्तीको अवसर पारेर रक्तदान गरेसँगै तत्कालको लागि अभाव परिपूर्ति भएको उनले बताए । ‘एक महिनालाई अब फूलफिल भयो । ३५ दिन सम्म यो खपत भएन भने सिन्धुली स्थित खुर्कोट अस्पताल, धुलिखेल अस्पताल लगायतका अस्पतालमा पठाउने गरेका छौँ ।’

जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा पनि पछिल्लो समय अप्रेसन, प्रसूति सेवा जस्ता रगत आवश्यक पर्ने सेवा भइरहेकाले पनि रगत खपत बढेको उनको भनाई छ ।